काठमाडौं-नेपालमा हरेक क्षेत्र पछि पर्नुको कारणमा सत्तारुढ दल र नेतृत्वले आफू निकटका व्यक्तिलाई दिने राजनीतिक नियुक्ति र तिनै व्यक्तिलाई प्रयोग गर्दै अनावश्यक हस्तक्षेप गरी आफ्नो दुनो सोझ्याउने प्रवृत्ति मुख्य बनेको कसैबाट लुकेको छैन । यस्तै राजनीतिक खेलमैदान बनेका कारण कहिल्यै माथि उठ्न नसकेको क्षेत्र हो– नेपाली खेलकुद ।
नेपाली खेलकुदले आज जुन उचाइ प्राप्त गरेको छ, त्यो सम्बन्धित खेलका खेलाडी र त्यसका आमसमर्थकका कारण हो भन्दा अत्युक्ति हुँदैन । नेपाली खेल क्षेत्रलाई आफ्ना कार्यकर्ता र आसेपासेको भर्ती केन्द्रका रूपमा विकास गरिँदा अन्य निकायले धेरै फट्को मारिसक्दा पनि यो क्षेत्र भने अझै उद्धारको पर्खाइमा छ ।
नेपाली खेल क्षेत्रको नेतृत्व गर्ने संस्था हो– राष्ट्रिय खेलकुद परिषद् (राखेप) । नेतृत्वदायी संस्था नै कमजोर र निरीह बनेपछि खेल क्षेत्र सुधारिनुको साटो झन्झन् ओरालो यात्रामा रहेको नेपाली खेलकुदलाई नजिकबाट नियालिरहेकाहरू बताउँछन् ।
तत्कालीन युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले टंकलाल घिसिङलाई २०७८ मंसिरमा राखेपको सदस्यसचिव नियुक्त गरेका थिए । उनी सदस्यसचिव भएको ३ वर्षको बीचमा बारम्बार सत्ता समीकरण फेरिएसँगै मन्त्री पनि फेरिए । माओवादीबाट मन्त्री बनेका गहतराजले नियुक्त गरेका उनलाई त्यसपछि आएका अन्य पार्टीका मन्त्रीले पनि हटाएनन् । राजनीतिक नियुक्ति लिएको कार्यकारी प्रमुखले आफू सम्बद्ध पार्टी नै सरकारमा नरहेको अवस्थामा पनि घिसिङ पदमा टाँसिइरहनु आश्चर्यजनक कुरा छ ।
त्यसमाथि उनले नेपाली खेलकुद क्षेत्रलाई अगाडि बढाउनुको साटो झन् विवादित र ओरालो यात्रामा धकेलिरहेको अवस्थामा पनि पदमा बसिरहनु र तालुकदार मन्त्रीहरूले पनि उनैलाई निरन्तरता दिइरहनुले प्रश्न गर्ने ठाउँ राखिदिएको छ । हालका खेलकुदमन्त्री तेजुलाल चौधरीमाथि उनी आबद्ध दल नेपाली कांग्रेसबाट घिसिङलाई हटाएर नयाँ सदस्यसचिव राख्न दबाब परे पनि चौधरीले त्यसो गर्न चाहेको देखिएन ।
कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघका एक केन्द्रीय सदस्य भन्छन्, ‘कीर्तिपुर फ्लड लाइट प्रकरण, वरिष्ठतालाई बेवास्ता गरेको, सम्बन्धित खेलका अधिकारीलाई बेवास्ता गर्दै सरोकार नै नभएको व्यक्तिलाई एसियाडमा म्यानेजर बनाएको लगायत अनेक आरोप घिसिङमाथि भएकाले बर्खास्तीको विकल्प छैन ।’ कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइट जडानमा राखेप असफल भएपछि सहरी विकास मन्त्रालयले हस्तक्षेप गर्दै टेन्डर आह्वान गरेको छ ।
मन्त्री चौधरी र सदस्यसचिव घिसिङका कारण अहिले खेलकुदमा वरिष्ठता मापनको खिल्ली नै उडाइएको छ । तालिम तथा प्रशक्षिण विभाग निर्देशकमा वरिष्ठता र योग्यतालाई बेवास्ता गरेको आरोप लगाउँदै विभागकी उपनिर्देशक संगीना वैद्यले राजीनामा दिइसकेकी छिन् ।
यसैगरी, राष्ट्रिय टिम तयारी समितिको निर्देशकमा वरिष्ठतालाई बेवास्ता गर्दे दीपक विष्टलाई जिम्मेवारी दिइएको छ । कराँते महासंघको मुख्य प्रशिक्षक नियुक्त गर्न राष्ट्रिय खेलकुद परिषद्ले ७ महिनाभन्दा लामो समय लगाएको थियो । १०औँ राष्ट्रिय खेलकुदको मिति ३ पटक सरिसकेको छ । अन्तिम पटक सारिएको मितिमा पनि प्रतियोगिता हुने कुरामा सरोकारवाला विश्वस्त छैनन् । मंसिरमा भएको केही बोर्ड सदस्यलाई खबरै नगरी बोर्ड बैठक राखेका घिसिङ न खेलकुदबारे जानकार व्यक्ति हुन् न खेलको महत्व नै बुझेका छन् । उनी पदमा बसेर आफू अनुकूल व्यक्तिलाई नियुक्ति दिने र अनावश्यक भ्रमणलगायतका सुविधा दिँदैमा व्यस्त छन् । परिषद् र सरकारले खेल क्षेत्रलाई गरेको उपेक्षा र गैरजिम्मेवारीपनको विरुद्धमा केही समयअघि स्थापित राष्ट्रिय खेल संघ महासंघले आवाज उठाइसकेको छ ।
खेल क्षेत्रको नेतृत्व गर्ने मन्त्री र सदस्यसचिव दुवै जना निरीह सावित हुँदै गलत विषयलाई प्राथमिकता दिनुमा ३ कारण प्रमुख भएको सरोकारवाला बताउँछन् । पहिलो– नेपाली खेलकुद क्षेत्रप्रति दल र सत्ता नेतृत्वको बेवास्ता र राजनीतिक भर्तीकेन्द्र बनाइनु । दोस्रो– खेलसँग सरोकार नै नभएका वा ज्ञान नभएकालाई नेतृत्व सुम्पिनु र तेस्रो– नेतृत्वमा खेलकुदको महत्व बुझेर यसको विकासका लागि इच्छाशक्ति नहुनु ।
हाल मन्त्री रहेका चौधरी र सदस्यसचिव रहेका घिसिङ दुवै खेलकुदका ज्ञाता तथा विज्ञ होइनन् । उनीहरू शक्तिको चाकडी गरेर राजनीतिक रूपमा पदमा पुगेका व्यक्ति हुन् । जबकि राजनीतिक रूपमा पनि उनीहरूको कुनै उचाइ छैन । मन्त्री चौधरी कांग्रेसका केन्द्रीय सदस्यसमेत छैनन् भने खेल क्षेत्रसँग त उनको कतै कुनै साइनो जोडिँदैन ।
मन्त्री मात्र होइन, राखेपका सदस्यसचिव घिसिङ पनि न खेल विज्ञ हुन्, न कुनै राजनीतिक उचाइ पाएका व्यक्ति हुन् । उनी माओवादी केन्द्रका बाग्मती प्रदेश सदस्य हुन् । जबकि सोही दलका धेरै केन्द्रीय सदस्य खेलकुदमा आबद्ध छन् र यसको महत्व र गरिमा बुझेका छन् ।संविधानसभा सदस्य तथा माओवादीको नेतृत्व तहमै रहेका किरण राई, दीपक देवकोटा र वाइएसिल अध्यक्षसमेत रहेका सुबोध शेर्पाली नेपाली खेलकुदमा आबद्ध छन् । तर, उनीहरूभन्दा धेरै कम राजनीतिक उचाइ भएका र खेलबारे धेरै ज्ञान नभएका घिसिङलाई नेतृत्व दिइएको थियो ।
माओवादी निकट अखिल नेपाल खेलकुद महासंघका एक अधिकारी भन्छन्, ‘घिसिङको कुनै महत्वपूर्ण राजनीतिक उचाइ नभएका कारण अन्त कतै नियुक्ति पाउने सम्भावना छैन । त्यसकारण उनलाई खेलको गरिमाको कुनै महत्व छैन, जसरी हुन्छ मन्त्रीलाई रिझाएर लामो समय पदमा रहने तथा लाभ लिने मात्र उनको नियत हो ।’ नेपालमा सबै क्षेत्रमा राजनीतिक नियुक्ति गर्दा विषयगत दक्षतालाई बेवास्ता गर्ने र आफू अनुकूलका व्यक्तिलाई पदमा पु¥याउने प्रचलनका कारण यो समस्या सिर्जना भएको उनको भनाइ छ ।


विश्व खबर 


















