काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गरेको आरोपमा डा. निकोलस भुसाल पक्राउ परेका छन् ।
सहकारी ठगी, संगठीत अपराध एवं सम्पत्ति शुद्धीकरणको अभियोगमा प्रहरी हिरासतमा रहेका लामिछाने थुनुवा कक्षमा सुतिरहेको फोटो उनले खिचेर सार्वजनिक गरेको उनले नै स्वीकार गरेका थिए।
भुसाललाई काठमाडौंको थलीबाट आइतबार बेलुकी उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर थप अनुसन्धानकाे लागी जिल्ला प्रहरी कार्यालय कास्की पठाएको छ ।
हिरासतमा रहेका लामिछानेको फोटो आफूले सीसीटीभीबाट खिचे र सार्वजनिक गरेको उनी आफैले स्वीकार गरेका थिए। लामिछानेलाई हिरासतमा भेटेर फर्किने क्रममा आफूले सीसीटीभी मनिटर रुमबाट खिचेको उनले बताएका थिए । तस्बिर सार्वजनिक भएपछि त्यसले तरंग सिर्जना गरेको थियो ।
के हुन्छ सजाय !
वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा मगरले मुलुकी अपराध संहिता, २०७४ मा विद्युतीय माध्यमद्वारा गोपनीयता भंग गर्न नहुने व्यवस्था गरिएको बताए । मुलुकी अपराध संहिताको धारा २९८ को उपधारा (१) मा कसैले विद्युतीय माध्यममा रहेको वा प्रवाह हुने सूचना, जानकारी, पत्राचार अनधिकृत रूपमा प्राप्त गर्न त्यसको गोपनीयता भंग गर्न वा अनधिकृत रूपमा कसैलाई हस्तान्तरण गर्न वा गराउन नहुने उल्लेख छ । त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । त्यसरी तस्बिर सार्वजनिक गर्दा वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ र विद्युतीय कारोबार ऐन समेत आकर्षित हुने देखिन्छ ।
नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्लले सुरक्षाका हिसाबले हिरासतभित्रको तस्बिर बाहिर आउनु राम्रो कुरा नहुने बताए । उनले भने, ‘हिरासतभित्र भीआईपीलाई फरक व्यवहार गरिँदो रहेछ भनेर आम कैदी बन्दीको मनोविज्ञानमा असर पार्छ । कतिपय अवस्थामा यसले अनुसन्धानलाई पनि असर पार्छ ।’ उनले कैदीबन्दीलाई भेट्न पूर्वमन्त्री र प्रधानमन्त्रीहरुको लस्कर नै जाँदा त्यसले अनुसन्धान कहीँ न कतै असर त पार्छ नै ।






















