काठमाडौं – नेपाल प्रिमियर लिग (NPL)क्रिकेटको फाइनलमा दीपेन्द्रसिंह ऐरी नेतृत्वको सुदूरपश्चिम रोयल्सविरुद्ध आशिफ शेख नेतृत्वको जनकपुर बोल्ट फेरी एकपटक आमने सामने हुँदैछन् ।
शनिबार मध्यान्ह १२ बजेपछि टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुने फाइनल खेलका लागि खेलाडीसँगै दर्शकहरु पनि व्यग्र प्रतिक्षामा छन् ।
करिब ३ घण्टासम्म टीयू मैदानमा गुन्जीने समर्थकको चर्को आवाजले सिंगो कीर्तिपुरलाई नै झसङ्ग झसङ्ग बनाइराख्नेछ । त्यतिन्जेलसम्म एनपीएलको पहिलो विजेताको टुङ्गो लाग्नेछ र त्याहाँको चर्को हुटिङ शान्त हुँदै जानेछ ।
टीयू मैदानमा एनपीएलको उद्घाटन र शनिवार बाहेकका खेलमा दर्शकको उपस्थिती निकै कम देखिन्थ्यो । तर सुदूरपश्चिम रोयल्स यस्तो अपवाद हो जसको खेल हेर्न जुनसुकै दिन पनि हजारौ समर्थक मैदानमा पुगेका थिए । फाइनलमा पनि सुदूरपश्चिमको समर्थकहरु तुलनात्मक रुपमा बढी हुने अपेक्षा गरिएको छ ।
सुरुवाती दिनमा त्यति धेरै समर्थक नबटुलेपनि जनकपुरले पछिल्लो २/३ खेलमा आफ्ना समर्थकहरुको उपस्थिती बढाउँदै लगेको छ । त्यसकारण फाइनलमा जनकपुरका समर्थकहरु पनि ठूलो संख्यामा टीयू मैदानमा पुग्नेछन् ।
खेलको टिकट अनलाइनबाट काटिएको र टिकट खुलेको एक घण्टामै सबै टिकट सकिएकोले कुन टिमका समर्थकले बढी टिकट लिएका छन् उनीहरु नै मैदानमा बढी आउन सक्ने अनुमान गर्न सकिन्छ ।
फाइनल अघिको पत्रकार सम्मेलनमा सुदूरपश्चिमका कप्तान ऐरी र जनकपुरका कप्तान शेखले हजारौं दर्शकमाझ हुने महाभिडन्त स्मरणयोग्य हुने बताए । उनीहरुले मैदानमा दर्शकको उपस्थितिले ऊर्जा र मोटिभेसन मिल्ने बताए ।
लिगचरण र क्वालिफायरमा गरी दुई/दुई पटक जनकपुरलाई पराजित गरेको भएपनि फाइनलमा सुदूरपश्चिमले हल्का रूपमा नलिने कप्तान ऐरीको भनाई थियो ।
जनकपुरका कप्तान आसिफले सुदूरपश्चिम बलियो टोली रहेको बताउँदै आफूले बेस्ट दिएर खेल्ने बताए ।
दुई खेलको हारको बदला लिने भावनाले नभई आफूहरूले राम्रो क्रिकेट खेल्ने र सकेको बेस्ट प्रदर्शन गर्ने आसिफको भनाइ थियो ।
सुदूरपश्चिमका कप्तान दिपेन्द्रले पनि फाइनल खेलमा दबाब नलिइकन खेल्नुपर्ने र जित हार जे भएपनि आफ्नो तर्फबाट बेस्ट दिनुपर्ने बताए ।
सुदूरपश्चिम र जनकपुरको एनपीएलमा यो तेस्रो भिडन्त हो । यसअघि लिग चरणमा भएको भेटमा सुदूरपश्चिमले १२४ रनको लक्ष्य डिफेन्ड गर्नेक्रममा जनकपुरलाई ५१ रनमा अलआउट गर्दै ७२ रनको फराकिलो जित निकालेको थियो । त्यसैगरी पहिलो क्वालिफायरमा १४० रनको लक्ष्य पच्छ्याएको सुदूरपश्चिमले २ विकेट गुमाएर लक्ष्य पुरा गर्दै जनकपुरमाथि ८ विकेटको जित निकालेको थियो ।























