काठमाडौं – शनिवार चितवन राइनोजले जनकपुर बोल्ट्सलाई पराजित गर्दा उपाधि होडमा रहेका विराटनगर किङ्स र पोखरा एभेन्जर्स भने बाहिरिएका छन् ।
अन्तिम खेल खेल्न बाँकी रहेका यी दुई टोलीको ४/४ अंक मात्रै छ । एनपीएलको अंक तालिकामा एक टोलीको १० र तीन टोलीको ८/८ अंक छ । एक खेल खेल्न बाँकी रहेको काठमान्डु गुर्खाजको ६ अंक छ । त्यसैले पोखरा र विराटनगरले अन्तिम खेल जिते पनि ६/६ अंक मात्रै हुने भएकाले यी दुवै टोली प्लेअफ होडबाट बाहिरिएका हुन् ।
आजको खेलमा चितवन पराजित भएको अवस्थामा भने यी दुवै टोलीको प्लेअफ सम्भावना जीवितै रहने थियो ।
शनिबार भएको खेलमा यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको जनकपुरलाई चितवनले ३२ रनले पराजित गरेको हो ।
१८१ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्टस १८ ओभरमा सबै विकेट गुमाएर १४८ रनमा अलआउट हुन पुगेको थियो ।
जनकपुरका लागि जीमी नीशमले आक्रमक ब्याटिङ गर्दै २४ बलमा ६५ रन बनाउँदा उनले १८ बलमा अर्धशतक पुरा गरेर छिटो अर्धशतकको कीर्तिमान नै राखे पनि जनकपुरलाई जिताउन भने सकेनन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले कुशल मल्लको ४१ बलमा ७२ रनको मदतमा ५ विकेट गुमाएर १८० रन बनाएको थियो ।
प्लेअफको तीन स्थानका लागि अब ४ टोली मात्र दाबेदार
प्लेअफको होडमा अब सुपूरपश्चिम रोएल्स, कर्णाली याक्स, चितवन राइनोज र काठमान्डु गुर्खाज मात्र बाँकी छन् । यी मध्ये काठमान्डु गुर्खाज बाहेक सबै टोलीको ८/८ अंक छ । काठमान्डुले आफ्नो अन्तिम खेलमा विराटनगरलाई पराजित गरेमा उसको पनि ८ अंक हुनेछ ।
सुदूरपश्चिमले २ खेल खेल्न बाँकी रहेकाले उसले दुवै खेल जितेमा १२ अंक र एक खेल मात्र जितेमा उसको पनि १० अंक नै हुनेछ ।
दुवै खेलमा पराजित भएको खण्डमा भने सुदूरपश्चिम पनि नेटरनरेटको आधारमा मात्रै अघि बढ्ने नबढ्ने टुङ्गो लाग्नेछ । सुदूरपश्चिम दुवै खेलमा पराजित भएमा कर्णाली याक्स भने १० अंक सहित सोझै प्लेअफमा पुग्नेछ । फाइनल प्रवेशका लागि जनकपुरसँग खेल्नेछ ।
तर, सुदूरपश्चिमले पोखरालाई हराएर कर्णालीसँग पराजित हुँदा भने १० अंक भएका तीन टोली प्लेअफमा हुनेछन् । यस्तो अवस्थामा राम्रो नेटरनरेट भएका दुई टोली फाइनल प्रवेशका लागि मैदानमा उत्रनेछन् । १० अंक नै भएको एउटा टोलीले भने चितवन वा काठमान्डुसँग इलिमिनेटर खेल्नुपर्नेछ ।
काठमान्डुलाई प्लेअफ पुग्न अन्तिम खेल आफूअनुकुल जित्नैपर्ने बाध्यता छ । काठमान्डु विराटनगरसँग पराजित भएमा भने प्लेअफ पुग्ने सबै चार टोलीको भोलि नै टुंगो लाग्नेछ । अन्यथा सोमबार हुने सुदूरपश्चिम र कर्णालीबीचको खेलपछि मात्रै प्लेअफ समिकरण पुरा हुने देखिन्छ ।


विश्व खबर 


















