images
images
  • लगातार चार खेल जितेर अंकतालिकाको तेस्रो स्थानमा उक्लियो कर्णाली, प्लेअफ सम्भावना बलियो

    काठमाडौं – नेपाल प्रिमियर लिग (NPL) मा कर्णाली याक्सले लगातार ४ खेल जितेर अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

    शुक्रबार लुम्बिनी लायन्सलाई ५ रनले पराजित गरेसँगै कर्णालीले सुदूरपश्चिम रोयल सरह ८ अंक जोडेको छ । यो जितसँगै कर्णालीले प्लेअफ सम्भावनालाई बलियो बनाएको छ ।

    कर्णालीले दिएको १२९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो । डेथ ओभरमा कर्णालीले उत्कृष्ट बलिङ गरेपछि लुम्बिन ५ रनले पराजित भएको हो।

    यसअघि नै लिग चरणबाट बाहिरिएको लुम्बिनी आफ्नो अनतिम खेलमा पनि पराजित भएको छ । लुम्बिनीले जारी प्रतियोगितामा चितवन राइनोजलाई मात्रै पराजित गरेको छ ।

    आजको खेलमा लुम्बिनीका लागि टम मुर्सले सर्वाधिक ३६ रन बनाउँदा सन्दिप जोराले २४ तथा आशुतोष घिरैया र साद विन जफरले समान १६ रन जोडेका थिए

    बलिङमा कर्णालीका जिसान मक्सुदले २ तथा कप्तान सोमपाल कामी, ननुदन यादव, विपिन शर्मा र विलियन बोसिस्टोले १-१ विकेट लिएका थिए ।

    त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको थियो।

    कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन बनाए । ३० बल खेलेका उनले समान ३ चौका र ३ छक्का प्रहार गरे । उनी लगातार दोस्रो खेलमा खेलको म्यान अफ द म्याच बने । कर्णालीका लागि अर्जुन घर्तीले २५ र बाबर हायतले २० रन बनाएका थिए

    बलिङमा लुम्बिनीका लागि डेब्यु गरेका विकास आग्रीले ३ तथा तिलक भण्डारीले २ विकेट लिएका थिए ।

    कर्णालीले अब लिगको अन्तिम खेल सोमबार सुदूरपश्चिम विरुद्ध खेल्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images