काठमाडौं – नेपाल प्रिमियर लिगमा हालसम्म २१ वटा खेल पुरा हुँदा प्लेअफमा पुग्ने र नपुग्ने १/१ टोलीको मात्रै टुँगो लागेको छ ।
६ मध्ये ५ खेल जितेको जनकपुर बोल्ट्स प्लेअफमा पुगेको छ भने ६ मध्ये ५ खेलमा पराजित लुम्बिनी लायन्स प्लेअफ होडबाट बाहिरिसकेको छ ।
बाँकी ६ टोली प्लेअफका ३ स्थानको लागि भिड्दै छन् । तालिकाको स्ट्यान्डिङ हेर्दा सुदूरपश्चिम अन्तिम ४ भित्र पर्ने लगभग निश्चित जस्तै छ । तर, अंक तालिकाको पुछारमा रहेको विराटनगर किङ्सको पनि प्लेअफ यात्रा जिवितै छ । सम्भावनाको खेल क्रिकेटमा तेस्रो स्थानको चितवन प्लेअफबाट बाहिरिएर आठौं स्थानको विराटनगर अन्तिम चारमा अटायो भने अच्चम नमाने हुन्छ । तर, त्यसको लागि विराटनगरले बाँकी दुई खेलमा विपक्षीलाई नराम्रोसँग हराउनुपर्छ भने चितवन र कर्णालीका बाँकी दुवै खेलमा ठूलो अन्तरमा पराजित हुनुपर्छ ।
त्यसो भयो भने चितवन, कर्णाली र विराटनगरको समान ६/६ अंक हुनेछ । काठमान्डु गुर्खाज र पोखरा एभेन्जर्सले पनि १/१ खेल जितेको खण्डमा अंक तालिकामा ६ अंक भएका ५ टोली हुनेछन् । त्यसपछि राम्रो नेटरनरेट भएका दुई टोली प्लेअफका लागि छनौट हुनेछन् ।
८ अंक जोड्दा पनि चाहिनसक्छ नेटरनरेट
बिहीवारको खेलमा पराजित भएपछि काठमान्डु गुर्खाजको प्लेअफ सम्भावना पोखरा एभेन्जर्स बराबर रोकिएको छ । यी दुवै टोलीले ५ खेल खेल्दा २ खेलमा जित हात पार्दै ४/४ अंक मात्रै जोडेका छन् । यी दुवै टोलीले बाँकी सबै खेल जित्दा पोखरा र काठमान्डुमध्ये एउटा टोली मात्रै ८ अंकमा पुग्नेछ । किनभभने काठमान्डु र पोखरा नै एआपसमा खेल्न बाँकी छ । कर्णाली र चितवनले पनि १/१ खेल जितेभने र सुदूरपश्चिम दुवै खेलमा पराजित भएमा ४ टोलीको समान ८/८ अंक हुनेछ । यतिबेला पनि यस्तो बेलामा ८ अंक भएका ३ टोली प्लेअफमा पुग्नेछन् भने एउटा टोली बाहिरिने छ । यो समिकरण बनेमा विराटनगर किंङ्स सुरुमै बाहिरिनेछ ।
जनकपुर, कर्णाली र चितवन १० अंकसहित जानसक्छन् प्लेअफमा !
चितवनले बाँकी दुवै खेल जितेको खण्डमा जनकपुर १० अंकमै रोकिनेछ । किनभने एक खेल मात्र बाँकी रहेको जनकपुरले चितवनसँग मात्र खेल्न बाँकी छ । चितवनको अर्को खेल विराटनगर सँग हुनेछ ।
त्यस्तै कर्णालीले पनि आफ्ना बाँकी दुवै खेल जितेमा उसको पनि १० अंक हुनेछ । कर्णालीले प्रतियोगिताबाट बाहिरिसकेको लुम्बिनी र दोस्रो स्थानको सुदूरपश्चिमसँग खेल्न बाँकी छ । यो समिकरणमा सुदूरपश्चिम कर्णालीसँग पराजित भएर पोखरलाई जितेको खण्डमा १० अंक जोड्ने ४ टोली हुनसक्छन् । यसो भयो भने समान अंक भएपनि नेटरनरेटमा प्लेअफमा को सँग प्रतिस्पर्धा गर्ने भन्ने टुंगो लाग्न सक्छ । ४ टोलीले १० अंक जोडेको खण्डमा काठमान्डु, पोखरा र विराटनगर प्लेअफबाट बाहिरिने छन् ।


विश्व खबर 


















