images
images
  • NPL – उपाधि होडबाट लुम्बिनी लायन्स बाहिरिएपछि प्लेअफमा कसको सम्भावना कति ? (सम्भावित अंकगणितसहित)

    काठमाडौं – लुम्बिनी लायन्स आफ्नो छैटौ खेलमा पराजित भएसँगै नेपाल प्रिमियर लिग – NPL को उपाधि होडबाट बाहिरिने पहिलो टोली बनेको छ ।

    बुधबार भएको खेलमा काठमान्डु गुर्खाजसँग १८ रनले पराजित भएसँगै लुम्बिनी एक खेल अगावै लिग चरणबाटै बाहिरिने पक्का भएको हो ।

    लुम्बिनीले ६ खेल खेल्दा एउटा मात्रै खेल जितेको छ । बाँकी एक खेल जित्दा पनि लुम्बिनीको ४ अंक मात्रै हुन्छ । जारी प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स समान ८/८ अंकसहित पहिलो र दोस्रो स्थानमा रहँदा चितवन राइनोज र कर्णाली याक्स समान ६/६ अंकसहित तेस्रो र चौथो स्थानमा छन् । लुम्बिनीले अन्तिम खेल जिते पनि ६ अंक नपुग्ने हुँदा एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको हो ।

    कुन कुन टोली पुग्न सक्छन् प्लेअफमा ?

    ८/८ अंक जोडेका सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सको प्लेअफ सम्भावना निकै बलियो भइसकेको छ । यी दुई टोलीले अन्तिमका दुवै खेल गुमाए भनेपनि दुई मध्ये एक टोली प्लेअफमा पुग्छ ।

    ६/६ अंक जोडेका चितवन र कर्णालीले आफ्ना बाँकी दुवै खेल जिते भने १०/१० अंक हुनेछ । काठमान्डु गुर्खाजले आफ्ना बाँकी तीनै खेल जितेमा यसको पनि १० अंक हुनेछ ।

    पोखरा र विराटनगरले बाँकी ३/३ खेल जितेभनेपनि उनीहरुको ८/८ अंक मात्रै हुनेछ । जुन अहिले सुदूरपश्चिम र जनकपुरको खातामा पहिलेदेखि नै छ ।

    तर, पोखराले तीन वटै खेल जित्न काठमान्डु गुर्खाजलाई पनि पराजित गर्नुपर्छ । त्यसो भयो भने काठमान्डू, पोखरा, सुदूरपश्चिम र जनकपुरको समान ८/८ अंक हुनेछ ।

    त्यस्तै विराटनगरले पनि तीनवटै खेल जित्दा ८ अंक जोड्न सक्छ । तर, उसले ८ अंक जोड्दा पोखरा बाहिरिन्छ भने चितवन र काठमाडौं ८/८ अंकमै रोकिनुपर्छ । यो समिकरण बनेमा कर्णालीको १० अंक, सुदूरपश्चिम, जनकपुर, चितवन र विराटनगरको ८/८ अंक हुनेछ । ८ अंक जोडेको एउटा टोली नेट रनरेटका आधारमा बाहिरिन्छ । नेट रनरेटमा सुदूरपश्चिम निकै बलियो छ भने त्यसपछि चितवनको नेटरनरेट राम्रो छ ।

    चितवन र कर्णालीको ६/६ अंक हुँदा पनि यसकारण हुनेछ दबाब

    ६ अंक सहित अंक तालिकाको तेस्रो र चौथो स्थानमा रहेका चितवन र कर्णालीलाई प्लेअफ पुग्न चर्को दबाब झेल्नुपर्ने देखिन्छ । चितवनले प्रतियोगिताकै बलियो टोली जनकपुरसँग खेल्न बाँकी छ भने अर्को टोली प्लेअफकै रेसमा रहेको विराटनगरसँग खेल्न बाँकी छ । चितवनले दुवै खेल गुमाउँदा जनकपुर सहजै प्लेअफमा पुग्नेछ । उसको खातामा ६ अंक मात्रै हुनेछ ।

    त्यस्तै अर्को टोली कर्णालीले खेल्न बाँकी रहेका दुई खेल तालिकाको शीर्ष स्थानमा रहेको सुदूरपश्चिम र उपाधिहोड बाट बाहिरिसकेको लुम्बिनीसँग खेल्नुपर्ने छ । प्रतियोगिताबाट बाहिरिसकेको लुम्बिनीले बिना दबाब खेल्नेछ । प्रतियोगितामा अहिलेसम्मकै उच्च १९० रनको योगफल खडा गरेको लुम्बिनीले कर्णालीलाई सहजै खेल्न नदिने पक्का छ । लयमा रहेको सुदूरपश्चिम पनि कर्णालीका लागि तगारो बन्ने देखिन्छ । कर्णालीले दुवै खेल गुमाउँदा सुदूरपश्चिम सहजै प्लेअफमा पुग्नेछ । चितवन र कर्णालीको ६/६ अंक मात्रै हुनेछ । यस्तो अवस्थामा उनीहरुले प्लेअफ पुग्न अरु टोलीको नतिजा कुर्नुपर्ने हुन्छ ।

    ४ अंक रहेको काठमान्डुको सम्भावना कस्तो छ ?

    जारी एनपीएलमा ३ खेल खेल्न बाँकी रहेको एक्लो टोली काठमान्डु गुर्खाज हो । उ प्रतियोगितामा रहिरहन ३ मध्ये कम्तिमा दुई खेल जित्नुपर्छ । जनकपुरलाई जित्न नसकेपनि पोखरा र विराटनगरलाई राम्रो नेटरनरेटमा हराउन सके काठमान्डु  ८ अंक मात्रै हुँदा पनि प्लेअफमा पुग्न त सक्छ, तर त्यसको लागि शीर्ष स्थानमा कुनै पनि ४ मध्ये तीन टोलीले कम्तिमा १/१ खेल गुमाउनुपर्छ । ३ मध्ये एक खेल मात्रै जितेको खण्डमा भने अर्को टोलीले सहजै ८ अंक पुरायर प्लेअफमा जान सक्छ ।

    आफूले जितेर मात्रै पुग्दैन विराटनगर र पोखरालाई

    विराटनगर र पोखराको ५ खेलबाट समान २/२ अंक छ । बाँकी तीनै खेल जित्दा पनि उनीहरुको ८/८ अंक मात्रै हुनेछ । यस्तोमा अंक तालिकाको शीर्ष ४ मा रहेका दुई टोलीले आफ्ना बाँकी खेल गुमाउनुपर्छ । पोखरा र विराटनगरले एकअर्कासँग खेल्न बाँकी रहेकाले दुई मध्ये एउटा टोली मात्र प्लेअफको रेसमा बाँकी रहने देखिन्छ । पराजित टोलीले अधिकतम ६ अंक मात्रै जोड्न सक्ने हुँदा झिनो गणितिय सम्भावना मात्रै बाँकी रहनेछ । यसको टुँगो भोलि नै लाग्नेछ । भोलि बिहीबारको पहिलो खेल पोखरा र विराटनगरबीच हुनेछ ।

    कुन टोलीले क-कस सँग खेल्न बाँकी ?

    ८ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको सुदूरपश्चिमले पोखरा र कर्णालीसँग खेल्न बाँकी छ ।

    ८ अंक नै जोडेर दोस्रो स्थानमा रहेको जनकपुरले काठमाडौं र चितवनसँग खेल्न बाँकी छ ।

    ६ अंक जोड्दै तेस्रो स्थानमा रहेको चितवनले विराटनगर र जनकपुरसँग खेल्न बाँकी छ ।

    ६ अंक नै जोडेर चौथो स्थानमा रहेको कर्णालीले लुम्बिनी र सुदूरपश्चिम सँग खेल्न बाँकी छ ।

    ४ अंक सहित तालिकाको पाँचौ स्थानमा रहेको काठमान्डुले अब जनकपुर, पोखरा र विराटनगरसँग खेल्न बाँकी छ ।  उसले खेल्ने तीन मध्ये दुई खेल प्लेअफमा पुग्न स‌ंघर्ष गरिरहेका विराटनगर र पोखरासँग खेल्नेछ ।

    २ अंक जोडेर  तालिकाको छैटौ स्थानमा रहेको लुम्बिनीको प्लेअफ पुग्ने सम्भावना सकिएपनि कर्णालीसँग एउटा खेल खेल्न बाँकी छ । २ अंक नै जोडेर सातौ स्थानमा रहेको पोखरा एभेन्जर्सले विराटनगर, काठमान्डु र सुदूरपश्चिमसँग खेल्न बाँकी छ । विराटनगर र काठमान्डु प्लेअफका लागि संघर्ष गरिरहेका टोली हुन् ।

    २ अंक नै जोडेर अंक तालिकाको पुछारमा रहेको विराटनगर किङ्सले पोखरा, चितवन र काठमान्डुसँग खेल्न बाँकी छ । पोखरा र काठमान्डु प्लेअफका लागि संघर्ष गरिरहेका टोली हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images