हुम्ला – हुम्लामा आइतबार रातिदेखि सोमबार दिउँसोसम्म निरन्तर हिमपात भएपछि अवरुद्ध सिमकोट विमानस्थलमा सञ्चालनमा आएको छ । जमेको हिउँ पन्छाएर आज हवाई सेवा सञ्चालनमा ल्याइएको हो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सुरक्षाकर्मी मिलेर हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालनमा आएको नागरिक उड्डयन प्राधिकरण हुम्लाका प्रमुख महेन्द्र सिंहले जानकारी दिए ।
मौसम सफा भएपछि आज बिहानैदेखि विमानस्थल सञ्चालनमा आएको उनले बताए । विमानस्थलको पार्किङस्थलमा जमेको केही हिउँ आफैँ पग्लिएर गए पनि रनवेमा जमेको हिउँ सुरक्षाकर्मीको सहयोगमा पन्छाइएको हो । जिल्लामा हिमपात हुँदा सोमबार एक दिन हवाई सेवा अवरुद्ध भएको थियो ।
सेवा सञ्चालनमा आएपछि नेपालगञ्जबाट सीता र तारा एयरले एक एक उडान गरेका छन् भने सीता एयरले नेपालगञ्ज र सुर्खेत एक–एक गरी दुई उडान गरेको सीता एयरको सिमकोट स्टेसनका कर्मचारी सूर्य लामाले बताए ।
हुम्लामा सीता, समिट, तारा एयर र सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले नेपालगञ्जदेखि उडान भर्दै आएका छन् । रासस























