काठमाडौं – कर्णाली याक्सका विलियम बोसिस्टो नेपाल प्रिमियर लिग (NPL)मा एकै खेलमा ६ विकेट लिने पहिलो खेलाडी बनेका छन् । जारी एनपीएलमा पोखरा एभेन्जर्स विरुद्ध उनले ४ ओभरमा २८ रन खर्चेर ६ विकेट लिएका हुन् ।
४ ओभरमै ४४ रन जोडेको पोखरालाई १६.३ ओभरमा १०३ रनमै अलआउट गर्न बोसिस्टोले ६ विकेट लिएका थिए । उनको अन्तिम ओभरमा दुई वटा क्याच समात्न छुटेपछि एकै खेलमा ७/८ विकेट लिने खेलाडी बन्नबाट चुकेका थिए ।
कप्तान सोमपाल कामी, विपिन शर्मा र युनिश सिंह ठकुरीले समान एक/एक विकेट लिँदा एक खेलाडी रन आउट भएका थिए ।
पोखराका लागि दिनेश खरेलले २६, आन्द्रेस गौसले २५, रेमोन रेइफरले २० र कप्तान कुशल भुर्तेल र विपिन खत्रीले समान १०/१० रन बनाए भने अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
प्रतियोगितामा कर्णाली ४ अंक सहित चौथो स्थानमा रहँदा पोखराले २ अंक मात्रै जोडेको थियो । प्लेअफ सम्भावना जोगाइ राख्न आजको खेल दुवै टोलीका लागि निकै महत्वपूर्ण रहँदा खेलको बाजि कर्णालीले मारेको छ ।
१०४ रनको लक्ष्य कर्णालीले ३ विकेट गुमाएर १५ ओभरमा पूरा गर्यो । उसका लागि गुलसन झाले सर्वाधिक ४९ रन बनाउँदा विदेशी खेलाडी वालटनले ४१ रनको योगदान गरे ।


विश्व खबर 


















