काठमाडौं – नेपाल प्रिमियर लिग (NPL) मा १९१ रनको उच्च लक्ष्य भेटाएको विराटनगर किङ्स १३४ रनको लक्ष्य भेटाउन असफल भएको छ ।
शनिबार भएको ‘लो स्कोरिङ’ खेलमा कर्णाली याक्सले दिएको उक्त लक्ष्य विराटनगरले भेटाउन नसकेको हो ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले १३४ रनको लक्ष्य दिएको थियोे । उक्त लक्ष्य पछ्याएको विराटनगरले पूरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १२६ रन मात्र बनाउन सकेपछि खेल कर्णालीले ७ रनले जितेको हो ।
विराटनगरका लागि निकोलस किर्टोनले सर्वाधिक ४० रन बनाए पनि खेल जित्न पर्याप्त भएन । विराटनगरका लागि लोकेश बमले १९ र दिपक बोहराले १८ रन जोडेेपनि अरु ब्याट्सम्यानले गतिलो साथ दिन सकेनन् ।
त्यसअघि भने विराटनगरले लुम्बिनी लायन्सले दिएको १९१ रनको लक्ष्य १९.५ ओभरमा १९३ रन बनाउँदै भेटाएको थियोे ।
१३४ रनको लक्ष्य रक्षा गर्ने क्रममा कर्णालीका लनगि नन्दन यादवले ४ ओभरमा १९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए भने विपिन शर्मालेले ४ ओभरमा १ मेडन राख्दै २० रन खर्चेर २ विकेट लिए । सोमपाल कामी, विलियम बोसिस्टो र युनिश ठकुरीले समान १ विकेट लिएका छन् ।
शिखर धवनको ब्याट नचलेको दिन कर्णालीका लागि विलियम बोसिस्टो र देव खनालको अर्धशतक मद्दतमा २० ओभरमा सबै विकेट गुमाउँदै १३३ रनको योगफल खडा गरेको थियो ।
बोसिस्टोले ४९ बल खेल्दै ५ चौका र ३ छ्ककाको मद्दतमा सर्वाधिक ६६ रन बनाउँदा ओपनर देवले ४८ बलमा ४ चौका र २ छक्काको मद्दतमा ५३ रन बनाएका थिए ।
विराटनगरका लागि प्रतिश जिसीले सर्वाधिक ४ विकेट लिएका थिए । उनलेे अन्तिम ओभर मेडन राख्दै ३ विकेट लिएका थिए । त्यसअघि भारतीय स्टार शिखर धवनलाई पनि प्रतिशले नै कट एण्ड बोल्ड गरेका थिए ।
NPL को इतिहासमा अन्तिम ओभर मेडन भएको पहिलोपटक हो ।


विश्व खबर 


















