images
images
  • ४५ वर्षअघि थापाथलीको प्रसूतिगृहमा जन्मेका थिए भुटानी राजा नामग्याल !

    काठमाडौं-काठमाडौंमा रहेका बौद्धधर्मसम्बन्धी दुई महत्त्वपूर्ण तीर्थस्थलको भ्रमण र पूजाआजाका लागि भुटानी राजा जिग्मे खेसर नामग्याल काठमाडौं आइपुगेका छन्। बौद्धमार्गी राजा नामग्याल बौद्धनाथ र स्वयम्भूमा पूजाआजाका लागि काठमाडौंआइपुगेका हुन्। खासमा नेपालको राजधानी काठमाडौं भुटानी राजाको जन्मस्थलपनि हो। ४५ वर्षीय राजा नामग्याल थापाथलीस्थित प्रसूतिगृहमा जन्मेका थिए।

    प्रसूति गृहको ‘डेलिभरी केस’सम्बन्धी दर्ता पुस्तिकामा उनको जन्म ९ फागुन २०३६ बिहानै छिरिङ याङ्दोनको कोखबाट भएको देखिन्छ।उनको जन्मसम्बन्धी विवरण प्रसूतिगृहमा रहेको ५ मंसिर २०३६ देखि ७ चैत २०३६ सम्मको विवरण पुस्तिकामा यो विवरण छ। अस्पतालका तर्फबाट यो ‘डेलिभरी केस’लाई डा.दिव्येश्वरी मल्लले ‘ह्यान्डल’ गरेकी थिइन्। स्व.मल्ल राजा त्रिभुवनीका ल्याइतेतर्फकी श्रीमतितर्फकी छोरी हुन्।

    वर्तमान राजा जिग्मे काठमाडौंमा जन्मेका बेला उनका बाबु जिग्मे सिग्मे वाङचुक भुटानको राजगद्दीमा बसिसकेका थिए। औपचारिक रूपमा रानी घोषणा भइनसके पनि राजाकी श्रीमती भएकाले छिरिङ याङ्दोनको ‘डेलिभरी केस’लाई ‘ह्यान्डल’ गर्ने जिम्मा राजा त्रिभुवनकी छोरी डा.दिव्येश्वरीले पाएकी थिइन्।

    नारायणहिटी राजदरबारको जाँचबुझ केन्द्रमा समेत काम गरिसकेका गृह मन्त्रालयका तत्कालीन उपसचिव ताम्ला उक्यावका भनाइमा-गर्भमा रहेको बच्चालाई जन्म दिन याङ्दोन आफ्ना दुई दिदीबहिनीका साथ २०३६ मंसिरताका काठमाडौं आएकी थिइन्।

    राजाका तर्फबाट गर्भवती भए पनि वर्तमान राजा नामग्याल जन्मँदा तत्कालीन राजा जिग्मे सिग्मेसँग उनको औपचारिक बिहे भने भइसकेको थिएन। ​जिग्मे सिग्मेले याङ्दोनका चार दिदीबहिनीसँग बिहे गरेका थिए। तर कसैलाई पनि रानी घोषणा गरेका थिएनन्। तीमध्ये वर्तमान राजाकी आमा याङ्दोन साइँली थिइन्।

    भुटानी राजदरबारले रानी याङदोनको काठमाडौं आगमन र प्रयोजनबारे नारायणहिटी राजदरबारलाई जानकारी गराएको थियो। २०३६ मंसिरताका नै काठमाडौं आइपुगेका भुटानका अघोषित महारानीहरूले टुँडिखेलमा १४ पुसमा मनाइने राजा वीरेन्द्रको जन्मोत्सवमा सहभागी हुने इच्छासमेत जाहेर गरेका थिए।

    Bhutani king

    ‘राजा वीरेन्द्रको जन्मोत्सवमा सहभागी हुन इच्छा जाहेर गरेपछि टुँडिखेलमा तीनैजना ‘रानी’लाई बस्ने स्थानको व्यवस्था गृह मन्त्रालयका तर्फबाट मैले गरेको थिएँ’, उक्याव भन्छन्, ‘उनीहरू राजा वीरेन्द्रको जन्मदिनभन्दा केही हप्ताअघि नै नेपाल आइसकेका थिए।’

    खासमा नेपालका आफ्ना थुप्रै नातेदार रहेकाले भुटानी रानीहरू काठमाडौं आइरहन्थे। सिन्धुपाल्चोकको तार्केघ्याङ्का तत्कालीन औतारी लामा कुशे छेचु डुक्पा लामा वर्तमान राजाका आमाका मामा थिए। आफ्नो मामाघर नेपालमा भएकाले उनीहरू काठमाडौं आइरहनु स्वाभाविक थियो। यो पारिवारिक सम्बन्धका अलावा धार्मिक र आफ्नै छोरा राजा होस् भन्ने भाकलका कारण पनि गर्भमा रहेको बच्चालाई जन्म दिन छिरिङ याङ्दोन काठमाडौं आएकी थिइन्।​

    तत्कालीन राजा जिग्मे सिग्मेका चारवटा रानी एकै परिवारका दिदीबहिनी भए पनि उनीहरू हरेकले आफ्नो सन्तान नै भुटानी राजगद्दीको उत्तराधिकारी बनोस् भन्ने कामना गर्नु स्वाभाविक थियो। नेपालमा जस्तै भुटानमा पनि छोरा मात्र गद्दीको उत्तराधिकारी हुने परम्परा थियो।तर जतिबेला जिग्मे केशर जन्मे, त्यतिबेला जेठी रानी दोर्जी वाङ्‌मोबाट कुनै सन्तान भएका थिएनन्।

    bhutani rajabouddha 3

    माइली रानी छिरिङ पेमले एक बच्चाको जन्म दिएकी थिइन्।तर ती बच्चा छोरा होइन, छोरी (छिमी याङ्जोम वाङचुक) थिइन्। उनी २६ पुस २०३६ मा जन्मेकी थिइन्। आफ्ना दुई दिदीमध्ये जेठीबाट कुनै सन्तान नजन्मेको, माइलीबाट छोरी मात्र जन्मेको र कान्छी साङ्गे पनि गर्भवती नभएको अवस्थामा छिरिङ याङ्दोनले आफ्नो गर्भमा रहेको बच्चा छोरा होस् भन्ने कामना गरिन्। यसका लागि उनले हलेसी महादेव (खोटाङ) को भाकलसमेत गरिन्।

    हलेसी महादेव हिन्दू धर्मावलम्बीका लागि त पूज्य छन् नै, बौद्ध धर्मावलम्बीका लागि पनि उत्तिकै महत्त्वपूर्ण छन्। यही कारण बौद्ध धर्मावलम्बी भुटानी राजपरिवारका सदस्य बेलाबेला दर्शनका लागि गोप्य रूपमा हलेसी पुग्ने गरेका छन्।

    आफ्नो पेटमा रहेको बच्चा जन्मने मिति नजिकिँदै गएपछि याङ्दोन जेठी दिदी दोर्जी र कान्छी बहिनी साङ्गेसँगै २०३६ मंसिरमा काठमाडौं आएकी थिइन्। केही हप्ता काठमाडौंमा बसेपछि ८ फागुन २०३६ मा थापाथलीको प्रसूतिगृह भर्ना भइन्। भर्ना भएको भोलिपल्ट (९ फागुन २०३६) बिहानै ३: ४० बजे उनलाई पुत्र लाभ भयो। अस्पतालमा रहेको यो जन्मसम्बन्धी रेकर्डमा नवजात शिशुको तौल ६ पाउन्ड ४ औँस उल्लेख छ।

    bhutani 3

    जतिबेला जिग्मेकेशरको जन्म भयो, त्यतिबेला छिरिङ याङ्दोनले भुटानी राजदरबारबाट रानीको दर्जा पाइसकेकी थिइनन्। त्यसैले जिग्मेकेशर जन्मिँदै युवराज अर्थात् ‘ट्रोङ्सा पेन्लोप’का रूपमा जन्मेका होइनन्। उनी औपचारिक रूपमा ट्रोङ्सा पेन्लोप (युवराज) बनेको १४ कात्तिक २०६२ (३१ अक्टोबर २००५) मा मात्र हो। जीवित छँदै बाबु जिग्मे सिग्मे वाङचुकले गद्दी छाडेपछि अर्को वर्ष २३ मंसिर २०६३ मा उनी भुटानको राजा बनाइए।

    नेपालसँगको आफ्नो यो सम्बन्धको चर्चा भुटानी राजाले नेपाली उच्च अधिकारीहरूसँगको भेटमा निकै गौरवका साथ गर्ने गर्छन्। भुटानका लागि समेत नेपालको राजदूत रहेका नयाँदिल्लीस्थित राजदूत नीलाम्बर आचार्यले दुई वर्षअघि ३० असोज २०७६ मा राजा जिग्मेकेशरलाई ओहोदाको प्रमाणपत्र पेस गर्ने क्रममा राजा जिग्मेकेशरले आफ्नो जन्म काठमाडौंमा भएको र नेपाली जनतासँग आफ्नो सम्बन्ध निकै गहिरो रहेको उल्लेख गरेका थिए।

    bhutani rajabouddha 1भुटानको राजधानी थिम्पुमा १५–१६ वैशाख २०७६ मा भएको दक्षिण एसियाली सहयोग संगठन (सार्क) को शिखर सम्मेलनमा तत्कालीन प्रधानमन्त्री माधव नेपालसँग पनि उनले आफू नेपालमै जन्मेको बताएका थिए। खासमा भुटानी राजा काठमाडौंमा जन्मेका मात्र थिएनन्, उनको बाल्यकालसमेत यहीं बितेको थियो।जानकारहरूका भनाइमा ५–६ वर्षको उमेरसम्म काठमाडौँमै बिताएका उनलाई स्कुल पढ्ने उमेर भएपछि भुटान लगिएको थियो।

    bhutani rajabouddha 1

    bhutani 3

    bhutani rajabouddha

    bhutani rajabouddha 1

    प्रतिक्रिया दिनुहोस्
    images
    images