images
images
  • कानुन संशोधन गरेरै भए पनि नेपालमा लगानीको वातावरण बनाउने अर्थमन्त्री पौडेलको उद्घोष

    बुटवल – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कानुन संशोधन गरेरै भए पनि सरकारले नेपालभित्र लगानीको राम्रो वातावरण बनाउने बताएका छन् ।

    भैरहवामा बिहीबार नवौं लुम्बिनी राष्ट्रिय महोत्सवको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले मुलुकको आर्थिक अवस्था पहिलेभन्दा सुध्रिँदै गएको भन्दै व्यवसायीहरूलाई नि:राश नहुन आग्रह गरे ।

    ‘निजी क्षेत्रको मनोबल बढ्ने गरी काम गर्न सरकार अग्रसर छ,’ अर्थमन्त्री पौडेलले भने । उनले यही सरकारले अर्थतन्त्रका सम्पूर्ण समस्या समाधान गरी मुलुक चलायमान बनाउने दाबी गरे ।

    ‘सरकार जसरी हुन्छ निजी क्षेत्रको मनोबल बढ्ने गरी काम गर्न लागेको छ’, उनले भने, ‘उद्योगी व्यपारीका समस्या छन्, मजदुरका समस्या छन्, किशोर किशोरीका समस्या छन् । ती अब समाधान हुन्छन् भन्ने आम नागरिकमा विश्वास बढ्दै गएको छ ।’

    वर्तमान सरकार बन्ने बेला मुलुकको अवस्था ठिक नभएको तर यो सरकार बनेपछि हरेक कुरा समाधान हुँदै लयमा गइरहेको उनले दाबी गरे ।

    अर्थमन्त्री पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रकै गौरव भएकोले यसको सञ्चालनमा शंका नगर्न पनि आग्रह गरे ।

    ‘हालको टर्मिनल भवन निर्माण भए पनि त्यो अपुग रहेको बताउँदै उनले अर्को भवन निर्माण गर्न तयारी भइरहेकोसमेत बताए ।

    ‘विमानस्थलमा अरू काम पनि बाँकी छन् । पूर्ण क्षमताको विमानस्थल बनाउन आवश्यक पूर्वाधार निर्माण गर्नेछौं,’ उनले भने, ‘एकाध समस्या आए पनि त्यसलाई समाधान गर्दै अगाडि बढ्दैछौं । विमानस्थलबारे सरकारले गरेका निर्णयहरू क्रमशः कार्यान्वयन हुँदैछन् । निजी क्षेत्रले गर्ने काम गर्नुपर्छ । विमानस्थल राम्रोसँग चल्छ । हामी चलाएर देखाउँछौं ।’

    अर्थमन्त्री पौडेलले भैरहवालाई अझै पूर्वाधारयुक्त र पर्यटकलाई आकर्षित गर्नुपर्ने बताए । अर्थमन्त्री पौडेलले निर्माणधिन आयोजना देखाउँदै निराशा छर्ने काम भएकोप्रति गुनासो गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images