काठमाडौं – सुदूरपश्चिम रोयल्स जारी प्रतियोगितामा लगातार दुई खेल जित्ने तेस्रो टोली बनेको छ । यस अघि जनकपुर बोल्ट्स र चितवन राइनोजले मात्रै लगातार दुई खेल जितेका थिए ।
दोस्रो खेलमा जित निकाल्ने क्रममा दीपेनद्रसिंह ऐरी नेतृत्वको सुदूरपश्चिमले करण केसी नेतृत्वको काठमाण्डू गुर्खाजलाई ७३ रनले पराजित गरेको छ ।
१६८ रनको विजयी लक्ष्य पच्छ्याएको काठमाण्डू १५.४ ओभरमा ९४ रनमै अलआउट भयो ।
काठमान्डुका लागि स्टेफेन इस्किनाजीले सर्वाधिक ३७ रन बनाए । ३३ बल खेलेका उनले ५ चौका र १ छक्का प्रहार गरे । सुमित महर्जनले १४ तथा भिम शार्की र जेरार्ड एरासमसले समान १० रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ब्राण्डन म्याकमुलेनले ३६ बल सर्वाधिक ५३ रन बनाउँदा कप्तान दीपेन्द्रले २५ बलमा ३ चौका र २ छक्का मदतमा ४३ रन जोडेका थिए । ओपनर विनोद भण्डारीले २८ बल खेल्दै समान २ चौका र छक्काको मदतमा ३५ रन बनाएका थिए ।

काठमान्डूका लागि रासिद खानले २ विकेट लिए । कप्तान करण केसी, शाहब आलम र एरासमसले १-१ विकेट लिए ।
पहिलो खेलमा पनि सुदूरपश्चिमले विराटनगर किङ्सलाई ९० रनले पराजित गरेको थियो । उक्त खेलमा पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमले दीपेन्द्र सिंह ऐरीको अविजित ५७ रनको मदतमा विराटनगरलाई १८३ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको विराटनगरले १६.१ ओभरमा सबै विकेट गुमाएर ९२ रन मात्र बनाउन सकेको थियो ।
सुरुवाती दुई खेल जित्दा सुदूरपश्चिमको ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट देखिको छ । दोस्रो खेलमा फिल्डिङमा भने सुदूरपश्चिमका केही कमजोरी देखिएका थिए । जहाँ ४ ओटा चौकार मिस फिल्डिङका कारण सम्भव भएका थिए ।
पहिलो खेलमा दीपेन्द्र, दोस्रोमा नरेन चम्किए
विराटनगरलाई पराजित गर्दा दीपेन्द्रसिंह ऐरीले २४ बलमा ५७ रनको आक्रमक पारी खेलेका थिए । उनी त्यो खेलमा म्यान अफ द म्याच बनेका थिए ।
दोस्रो खेलमा दीपेन्द्रले ४३ रनको मात्र इनिङ खेले पनि बायाँ हाते स्पिनर नरेन साउदले ५ विकेट लिएपछि सुदूरपश्चिमले काठमान्डूलाई सहजै पराजित गर्न सफल भयो । दोस्रो खेलमा नरेन साउद नै म्यान अफ द म्याच बने ।

जारी प्रतियोगितामा नेपाली खेलाडीकै उत्कृष्ट प्रदर्शनमा खेल जित्नेमा सुदूरपश्चिम सबैभन्दा अघि छ ।
ब्याटिङतर्फ सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी र विनोद भण्डारी चम्किरहँदा बलिङ तर्फ नरेन साउद र अविनास बोहरा चम्किरहेका छन् । उनीहरुलाई विदेशी खेलाडीले पनि राम्रो साथ दिइरहेका छन् ।
सुदूरपश्चिमका नाममा कीर्तिमान नै कीर्तिमान
जारी प्रतियोगितामा सबैभन्दा छिटो अर्धसकतको कीर्तिमान दीपेन्द्रसिंह ऐरीको नाममा छ भने एकै खेलमा ५ विकेट लिने नेपाली खेलाडीको कीर्तिमान नरेन साउदको नाममा आएको छ । यसअघि चितवनका विदेशी खेलाडीले सोहल तनविरले काठमान्डु विरुद्ध नै ५ विकेट लिएका लिएका थिए ।

सर्वाधिक ठूलो रन अन्तरले खेल जित्ने कीर्तिमान पनि सुदूरपश्चिमकै नाममा छ । लगातार दुवै खेलमा १५० भन्दा धेरै रन हान्ने कीर्तिमान पनि सुदूरपश्चिमकै नाममा छ । दुवै विपक्षीलाई १०० भन्दा कम स्कोरमा रोक्ने कीर्तिमान पनि सुदूरपश्चिमकै नाममा बसेको छ ।


विश्व खबर 


















