काठमाडौँ – कालीकोटको तिलागुफा नगरपालिका वडा नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जम्मा ५ मत मात्रै पाएको छ ।
आइतबार राति प्राप्त अन्तिम मतपरिणामअनुसार रास्वपाका गगन बमले जम्मा ५ मत पाएका हुन् ।
कालिकोटमा रास्वपा सभापति रवि लामिछानेले १२ कोठाको रासकोट अस्पताल बनाउन पहल गरेका थिए । उनले रवि लामिछाने फाउन्डेसनको नामबाट अस्पताल बनाउन सहयोग जुटाएका थिए । पछि उक्त अस्पताल नगरपालिकालाई हस्तान्तरण गरिएको थियो ।
रवि लामिछानेलाई राजनीतिमा आउन उक्त अस्पताल निर्माणको पहलकदमीले पनि ठूलो सहयोग गरेको थियो । अस्पताल बनाएको स्थानीय तहमा उपनिर्वाचन नभएपनि छिमेकी स्थानीय तह तिलागुफामा भएको निर्वाचनमा रास्वपाले पत्याउनै मुस्किल हुने मत पाएको हो ।
जित्न नसक्ने जस्तो लागेका स्थानीय तहमा रास्वपाले उम्मेदवारी नै दिएको थिएन । उम्मेदवारी दिएका ठाउँमा पनि रास्वपाले अहिलेसम्म कुनै पनि ठाउँमा अग्रता लिन सकेको छैन ।
सो स्थानमा नेमकिपाका खड्गराज शाहीले १४३ मतका साथ विजय हासिल गरे भने दोस्रो स्थानमा माओवादी केन्द्रकी नैसोभा शाहीले ११५ मत पाइन् । सो स्थानमा यसअघि माओवादी केन्द्रको उम्मेदवार विजयी भएकोमा अहिले नेमकिपा विजयी भएको हो ।
यस्तै एमालेका ऐनबहादुर शाहीले ७८, कांग्रेसका पैल बहादुर शाहीले ४९ र राप्रपाका गोगन बहादुर शाहीले जम्मा १७ मत पाएका छन् ।
यो सँगै माओवादीले आफूले जितेको एउटा वडा गुमाएको छ ।






















