images
images
  • काठमाडौंमा रविको दोस्रो दिनको बयान सुरु, कहिले फर्किन्छन् पोखरा ?

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौंमा थप बयानको लागि सरकारी वकिलको कार्यालय लगिएको छ ।

    काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगीको अनुसन्धानका लागि उनलाई पोखराबाट बिहीबार काठमाडौं ल्याइएको थियो । शुक्रवार बयान नसकिएपछि आइतबार सरकारी वकिलको कार्यालयमा उनको थप बयान चलिरहेको छ । उनको बयान आज सकिएमा आजै बेलुका उनलाई पोखरा फर्काइनेछ । आज बयान नसकिएमा सम्भवत भोलि बयान सकिएपछिमात्र उनी पोखरा फर्किनेछन् । प्रहरीले रविको काठमाडौंमा बयान सकिन करिब ३ दिन जति लाग्ने अनुमान यस अघि नै गरेको थियो ।

    कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेविरुद्ध २ मंसिरमा पक्राउ अनुमति जारी भएको थियो ।

    प्रहरीले पहिले स्वर्णलक्ष्मी सहकारीमा छापा मारेर केही कागजातहरू बरामद गरेको थियो, जसमा गाडी किन्न भनेर रवि लामिछाने र जिबी राईले दुई पटक गरेर ४६/४६ लाख रुपैयाँ लिएको भेटिएको थियो ।

    यसपछि उनी छानबिनको दायरामा तानिएका हुन् । पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अपचलन भएको प्रकरणमा प्रहरीले लामिछानेलाई २ कात्तिकमा वनस्थलीस्थित रास्वपा पार्टी कार्यालयबाट पक्राउ गरेको थियो ।

    सुरुमा उनीमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएको थियो भने पछि कास्की प्रहरीले सम्पत्ति शुद्धिकरणको कसुरमासमेत अनुसन्धान गरिरहेको छ ।

    लामिछानेमाथि काठमाडौंको स्वर्णलक्ष्मीसहित बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी र पोखराको सुर्य दर्शन सहकारी लगायतमा भएको रकम हिनामिनामा अनुसन्धान भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images