काठमाडौं – नेपाल प्रिमियर लिग (NPL) को टिकट टीयूका विद्यार्थीहरुले १५० रुपैयाँमै पाउने भएका छन् ।
त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले एनपीएलको टिकट खरिद गर्दा ५० प्रतिशत छुट पाउने नेपाल क्रिकेट सँघ (CAN) ले जनाएको छ ।
क्यानले शुक्रबार राति एक विज्ञप्ति जारी गर्दै टीयूमा अध्ययनरत विद्यार्थीले छुट पाउने जनाएको हो ।
‘प्रतियोगिता अवधिभरका लागि त्रिवि मैदान कीर्तिपुरमा हुने खेलहरूका लागि क्यान र त्रिभुवन विश्वविद्यालयबीच भएको सम्झौता अनुसार त्रिविमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूका लागि टिकट खरिदमा ५० प्रतिशत छुट कायम गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।
क्यानले लिग चरणका खेलहरूमा सामान्य टिकटको रु ३०० तथा भीआईपी टिकटको रु ५०० तोकेको छ । त्यसैगरी प्लेअफमा सामान्यतर्फ ५०० र भीआईपीतर्फ ७०० रुपैयाँ शुल्क तोकिएको छ । फाइनलमा भने सामान्यतर्फ ५०० र भीआईपी तर्फ १००० रुपैयाँ शुल्क तोकिएको छ ।
लिग चरणका खेलहरूको टिकट १५० र २५० रुपैयाँमा पाएपनि सेमिफाइनल र फाइनलमा कम्तिमा २५० र ५०० रुपैयाँसम्म तिर्नुपर्ने छ ।
८ टोली सम्मिलित एनपीएल भोलि शनिबारदेखि सुरु हुँदै छ । उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सले प्रतिसपर्धा गर्दैछन् ।
उद्घाटन खेलको टिकट भने सबै विक्री भइसकेको छ । आगामी दिनमा टिकट काट्दा मात्रै विद्यार्थीले उक्त सहुलियत पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्