images
images
  • प्रतितोला डेढ लाखमा झर्याे सुनकाे भाउ, एकैदिन १५ हजार ९ सयले घट्याे

    काठमाडौं – सरकारले भन्सार दर घटाएपछि सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँले काराेबार भएकाे थियो ।

    ‘सरकारले १० प्रतिशत भन्सार दर कायम गरेपछि सोअनुसार सोमबारदेखि मूल्य समायोजन गरिएको हो’ महासंघका अध्यक्ष अर्जुन रसायलीले भने । सरकारले सुनको भन्सार दरलाई २० बाट १० प्रतिशतमा झारेपछि सो दरको प्रभाव सोमबार नै परेको हाे ।

    ‘भारतबाट सुन तस्करी भएर नेपालमा नआओस् भन्ने उद्देश्यले दर घटाउने निर्णय भएको हो,’ भन्सार विभागका महानिर्देशक हरिशरण पुडासैनीले भने । सरकारले बजेटमार्फत १५ प्रतिशत रहेकाे भन्सार दर २० पुर्‍याएको थियो ।

    उता, भारतमा भने पूर्ण बजेट आउँदा भन्सार दर घटेको थियो । त्यसले नेपालमा सुन महँगो र भारतमा सस्तो हुन पुगेको थियो । यसले बजारमा तस्करीको सुन आएको आशंका गरिएको छ ।

    औपचारिक प्रणालीबाट आउने सुनको परिमाणमा भारी गिरावट देखिएको छ ।

    २० दिन अघि १ लाख ७१ हजारसम्म पुगेकाे सुनकाे भाउ १ महिना नपुग्दै ताेलामा २० हजारले घटेकाे छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images