images
images
  • सामुदायिक विद्यालयबाट राष्ट्रिय खेलाडी उत्पादन गर्ने बालेन प्रयास, कक्षा ४ देखि नै प्रशीक्षण सुरु

    काठमाडौं – काठमाडौ महानगरले सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीहरुबाट खेलाडी उत्पादन प्रक्रिया सुरु गरेको छ ।

    महानगर प्रमुख बालेन शाहले सार्वजनिक गरेको एक विवरण अनुसार करिब १५ हजार जना विद्यार्थीहरुले विभिन्न खेल प्रशिक्षणमा रुचि देखाएपछि अहिले १८ वटा केन्द्रबाट खेलाडी छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

    कार्यक्रमअन्तर्गत खेल खेल्नका रुचिजत्तिकै आवश्यक अर्को महत्वपूर्ण पक्ष भनेको शारीरिक अवस्था रहेको भन्दै महानगरले विद्यार्थीको रुचिलाई शारीरिक अवस्थाले साथ दिन्छ कि दिँदैन भन्ने आधारभूत पक्ष छनोटमा हेरिएको जनाएको छ । छनोट भएका विद्यार्थीहरुलाई क्षमता विकासका लागि प्रशिक्षण सञ्चालन हुनेछ ।

    sport 1

    कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरु छनोट चरणमा छन् । निर्धारित १७ विधाका खेलमध्ये सबैभन्दा धेरै फुटबल खेलमा रुचि देखिएको छ । त्यसपछि क्रमशः व्याटमिन्टन, भलिबल, क्रिकेट, तेक्वान्दो, बास्केटबल, कराँते, कवड्डी, एथलेटिक्स, बक्सिङ्, चेस, टेबुलटेनिस, खोखो, हक्की, उसु र जुडोमा रुचि देखिएको छ ।

    जुनियर छात्र र जुनियर छात्रा तथा सिनियर छात्रा र सिनियर छात्र गरी ४ समूहमा विभाजन गरेर ३ महिना प्रशिक्षण प्रदान गरिने मेयर शाहले बताएका छन् ।

    जुनियरमा कक्षा ४ देखि ८ सम्मका विद्यार्थीलाई र सिनियरमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई सहभागी गराइनेछ । कक्षा १० का विद्यार्थीलाई भने खेलमा भन्दा एसइइको तयारीमा प्रोत्साहन गरिनेछ । प्रशिक्षणका लागि नियमित कक्षा अगाडि, पछाडि, विदाका दिन तथा लामो छुट्टीको अवधिलाई उपयोग गरिने पनि शाहले बताएका छन् ।

    balen sport 2

    प्रशिक्षणपछि माघको अन्तिम सातातिर संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीहरुका बीचमा प्रतियोगिता आयोजना गर्ने पनि मेयर शाहले जानकारी दिएका छन् । यो प्रतिस्पर्धा जित र हारमा भन्दा पनि अन्तरराष्ट्रिय मापन पद्धति सिकाउनमा केन्द्रीत हुने उनको भनाई छ ।

    ‘विद्यालय स्तरमा हुने यस प्रकारका क्रियाकलापले खेलमार्फत भोलि देशको इज्जत काँधमा बोक्ने खेलाडीलाई आजैदेखि तालिम प्राप्त हुनेछ ।’ शाहले भनेका छन् ,  ‘प्रतिस्पर्धाबाट खारिँदै गएर उत्कृष्ट खेलाडीहरु राष्ट्रिय अन्तरराष्ट्रिय प्रतिस्पर्धाका लागि तयार हुनेछन् ।’

    शैक्षिक उन्नतिका लागि यो महत्वपूर्ण साधन हुने पनि मेयर शाहको विश्वास छ ।

    balen sport 3 balen sport  sport 2 sport 3 sport 4 sport 5

    प्रतिक्रिया दिनुहोस्

    images
    images