images
images
  • मन्त्रिपरिषद् पुनःगठनको तयारीमा ओली- देउवा !

    काठमाडौं – केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको चार महिना पुग्न लाग्दा मन्त्रिपरिषद् हेरफेरको तयारी सुरु भएको छ। असार ३० गते कांग्रेसको समर्थनमा प्रधानमन्त्री भएका केपी शर्मा ओलीले सत्ता साझेदार दल  नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासँग मन्त्रिपरिषद् हेरफेरबारे छलफल गरेको र दुई नेताबीच दुई दलबाट प्रतिनिधित्व गरेका केही मन्त्रीलाई हटाएर नयाँ ल्याउने स्रोतको दाबी छ।

    देउवाको ‘कोर टिम’मा लेखकले आउँदो पार्टी महाधिवेशनलाई हेरेर महामन्त्री थापालाई बढी सहयोग पुग्ने गरी काम गरिरहेको ब्रिफिङ हुन थालेको स्रोतको दाबी छ। त्यस्तै, शेखर कोइरालाको कोटामा पर्यटनमन्त्री भएका बद्री पाण्डेको कार्यशैलीबाट प्रधानमन्त्री ओली असन्तुष्ट रहेको बताइन्छ भने नेपाल नागरिक उड्यान प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई हटाउने विषयमा पर्यटनमन्त्री आरजु राणासँग क्याबिनेटमा भनाभन भएको बाहिरिएको छ।

    कांग्रेसबाट सरकारमा रहेका गृहमन्त्री रमेश लेखक, पर्यटनमन्त्री बद्री पाण्डेलाई हटाउनुपर्ने विषयमा कांग्रेसभित्र कुरा उठिरहेका बेला नेतृत्व तहमा छलफलको विषय बनेको हो। लेखक देउवा क्याम्पबाट मन्त्री बने पनि उनले महामन्त्री गगन थापा निकट रहेर काम गरिरहेको भन्दै उनलाई फिर्ता बोलाउनुपर्ने आवाज भित्रभित्रै बढ्न थालेको छ। शक्ति केन्द्र रिझाएर प्राधिकरणमा रहेका अधिकारीलाई हटाउन मन्त्री पाण्डेले प्रस्ताव गरे पनि राणाले ‘उनी राम्रो मान्छे भएको र उनीजस्ता अरु दुई चार जना राम्रा मान्छे चाहिने’ भन्दै प्रतिवाद गरेकी छन्। अधिकारी हटाउने प्रस्ताव गरेका पाण्डेलाई नै हटाउनु पर्ने आवाज सत्ता गठबन्धनमा उठ्न थालेको छ।

    त्यस्तै, नेकपा एमालेबाट मन्त्री भएकाहरुले पनि अपेक्षाकृत काम गर्न नसकेको भन्दै उनीहरुको ठाउँमा नयाँ नेताहरुलाई लानु पर्ने चर्चा सुरु भएको छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको कामका विषयमा प्रश्न उठ्न थालेको छ। तर, एमालेले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको चाहनाअनुसार मन्त्री नियुक्त भएकाले हेरफेरका विषयमा पनि उनको एकल निर्णयले नै काम गर्नेछ।

    एमालेका एक नेताले भने, ‘हाम्रो पार्टीमा कसलाई राख्ने कसलाई फिर्ता गर्ने भन्ने कुरा अध्यक्षलाई मात्रै थाहा हुन्छ। हामीले त भएपछि थाहा पाउने हो। तर मन्त्रीको काम प्रभावकारी नभएको देखिन्छ।’

     

    प्रतिक्रिया दिनुहोस्

    images
    images