images
images
  • रोमाञ्चक बन्दै युरोकप : इटाली अन्तिम १६ मा, वेल्सको सम्भावना जीवितै

    काठमाडौं-बलियो प्रतिस्पर्धी इटाली युरोकप फुटबलको अन्तिम १६ मा पुगेको छ । रोममा बुधबार राति भएको समूह चरणको दोस्रो खेलमा स्विजरल्याण्डलाई ३–० गोल अन्तरले हराउँदै इटाली नकाउट चरणमा पुगेको हो ।

    १९६८ को युरोकप विजेता इटालीलाई जिताउन म्यानुएल लोकाटेलीले दुई गोल गरे । यस्तै, सिरो इमोबाइलले एक गोल गरे । खेलको १९औँ मिनेटमा जर्जियो चिलीनीले गोल गरे पनि उनको गोलले मान्यता पाएन । उनले गोल गर्नु अघि ह्यान्डबल गरेको कारण गोलले मान्यता नपाएको हो ।

    यो जितसँगै समूह ‘ए’ को इटाली अन्तिम १६ मा पुग्ने पहिलो टोली बनेको छ । लगातार दोस्रो जित निकालेको इटालीले २ खेलमा ६ अंक जोडेको छ । इटाली आफ्नो समूहको शीर्ष स्थानमा छ । पहिलो खेलमा इटालीले टर्कीलाई ३–० ले नै हराएको थियो ।

    समूह ए’को तेस्रो स्थानमा रहेको स्विजरल्याण्डको यो पहिलो हार हो । स्विजरल्याण्डले पहिलो खेलमा वेल्ससँग १–१ गोलको बराबरी खेलेर १ अंक जोडेको छ ।

    वेल्सको सम्भावना जीवितै

    यसैबीच, वेल्स राउन्ड अफ सिक्सटिन नजिक पुगेको छ । समूह ए’को सबैभन्दा कमजोर आँकिएको टर्कीमाथि जित निकाल्दै वेल्स नकआउट नजिक पुगेको हो ।

    बुधबार राति भएको खेलमा वेल्सले टर्कीलाई २–० गोल अन्तरले पराजित हरायो । वेल्सलाई जित दिलाउन आरोन राम्से र कोनर रोबर्ट्सले एक–एक गोल गरे । यो जितसँगै ४ अंक बटुलेको वेल्स समूहको दास्रो स्थानमा छ ।

    समूह चरणको अन्तिम खेलमा वेल्सले बलियो इटालीसँग खेल्नेछ । यद्यपि, स्विजरल्याण्ड र टर्कीबीचको खेल पनि महत्वपूर्ण मानिएको छ । टर्की विजयी हुँदा स्वतः वेल्स हार्दा पनि अर्को चरणमा पुग्नेछ ।

    खेल बराबरी भएपनि वेल्स अर्को चरणमा पुग्नेछ । त्यस्तै स्विजरल्याण्डले साँघुरो जित निकाल्यो भने वेल्स राउन्ड अफ सिक्सटिनमा पुग्नेछ ।

    स्विजरल्याण्डले फराकिलो जित निकालेर वेल्स पछि परे पनि तेस्रो स्थान हासिल गर्ने ६ मध्ये उत्कृष्ट ४ टोली समेत राउन्ड अफ सिक्सटिनमा पुग्ने भएकाले वेल्सको सम्भावना जीवितै छ । –एजेन्सीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस्
    images
    images