एजेन्सी – मौसम परिवर्तनका घटनाक्रम पनि अच्चमका छन् । पानी नै नपर्ने हिमालमा बाढी पहिरो र आगलागीका घटना सार्वजनिक भइरहेका बेला मरुभूमिमा भीषण वर्षाका समाचार पनि सार्वजनिक भएका थिए ।
तर, यो वर्ष भने मरुभूमिमा इतिहासमै पहिलोपटक हिमपात भएको घटना पनि सार्वजनिक भएको छ ।
केहि दिन अघि मात्र साउदी अरबका केही स्थानमा भारी वर्षा र हिमपात भएको छ । देशको अल–जाफ मरुभूमिमा इतिहासमै पहिलोपटक हिमपात भएको साउदी अरबियन समाचार एजेन्सीले जनाएको फर्स्टपोस्ट ले उल्लेख गरेको छ । यसलाई यस क्षेत्रको मौसममा ठूलो परिवर्तन मानिएको छ ।
हिमपातपछि अल–जाफ मरुभूमि आश्चर्यजनकरूपमा जाडो भूमिमा परिणत भएको छ । साउदी प्रेस एजेन्सीका अनुसार, यसअघि अल–जाफमा हिमपात भएको कहिल्यै देखिएको थिएन । साउदीको यस घटनाले मौसमविद्हरू नै आश्चर्यमा परेका छन् ।
साउदी अरेबियाले गत हप्तादेखि असामान्य मौसमको सामना गरिरहेको छ । गत बुधबार अल–जाफका केही भागमा भारी वर्षा र असिनाले क्षति पुर्याएको थियो । त्यसपछि उत्तरी सीमा, रियाद र मक्का क्षेत्रमा पनि पानी परेको थियो ।
मौसममा आएको परिवर्तनका कारण ताबुक र अल बाह क्षेत्र पनि प्रभावित भएका छन् । सोमबारमात्र अल जुफको पहाडी क्षेत्रमा हिमपात भएको थियो । यहाँ परेको हिउँको तस्बिरले सामाजिक सञ्जालमा मानिसको ध्यान तानेको छ ।
यूएईको नेसनल सेन्टर अफ मेटियोरोलोजी (एनसीएम)ले अरब सागरदेखि ओमानसम्म फैलिएको न्यून चापीय प्रणालीका कारण असामान्य असिना परेको जनाएको छ । यसले यस क्षेत्रमा आर्द्रताले भरिएको हावा ल्यायो, जुन सामान्यतया सुख्खा हुन्छ । जसका कारण साउदी अरब र संयुक्त अरब इमिरेट्स (युएई) मा मेघगर्जन, असिना र वर्षा भइरहेको छ ।
बदलिँदो वायुमण्डलीय अवस्थाका कारण मरुभूमिमा हिमपातजस्ता असामान्य घटना भइरहेको विज्ञहरू बताउँछन् । यस वर्षको सुरुमा साउदी अरेबियाको राजधानी रियादमा अभूतपूर्व वर्षापछि ठूलो बाढी आएको थियो । दुबईले पनि यस्तै बाढीको सामना गर्यो, जुन यस क्षेत्रका लागि नयाँ अनुभव थियो ।
केहि दिनअघि मात्र स्पेनमा समेत भारी वर्षपछि ५० वर्ष यताकै ठूलो बाढी आएको थियो । गत महिना नेपालमा समेत यस्तै प्रकृतिको मौसमती घटनाले काठमाडौं उपत्यकामा ठूलो जनधनको क्षति भएको थियो । यी सबै घटनाक्रमको पछाडि मौसम परिवर्तनको ठूलो हात रहेको विज्ञहरुले बताएका छन् ।
-एजेन्सीको सहयोगमा


विश्व खबर 
















