काठमाडौं – सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न अदालतले थप १० दिनको समय दिएको छ ।
दोस्रोपटक थपिएको म्याद कात्तिक १५ गते सकिएपनि तिहार बिदाका कारण उनी हिरासतमै बस्नु परेको थियो । अदालतले अहिले सोही दिनदेखि गणना हुने गरी म्याद थप गरेको हो ।
न्यायाधीश चन्द्रकान्त पाैडेलकाे इजलासले लामिछानेमाथि अनुसन्धान गर्न १० दिन म्याद थप्ने अनुमति दिएको हो । प्रहरीले भने अनुसन्धानका लागि २५ दिनको समय मागेको थियो । आगामी ५ दिनभित्र अनुसन्धान नसकिएमा उनलाई चौथो पटक म्याद थपका लागि अदालतमा उपस्थित गराउनुपर्ने छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनी कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । सोही दिन राति पोखरा लगिए पनि शनिबार परेकाले ४ गतेमात्रै अदालत उपस्थित गराइएको थियो । त्यतिबेला अदालतले पहिलो पटकका लागि पक्राउ परेको दिनदेखि गणना हुने गरी ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको थियो ।
उनलाई अदालतमा उपस्थित गराउँदा हरेक पटक नाराबाजी र झडपको स्थिती सिर्जना हुँदै आएको छ । आज पनि उनलाई अदालत उपस्थित गराउँदा बाहिर नाराबाजी गर्दै निषेधिक क्षेत्र तोडेपछि रास्वापका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुले माइकिङ गर्न प्रयोग गरेको गाडीको साँचो थुत्नुका साथै भीड नियन्त्रण गर्न अश्रु ग्यास समेत प्रहार गर्नुपरेको थियो ।
प्रतिक्रिया दिनुहोस्