
काठमाडौं – साफ महिला फुटबलको उपविजेता नेपाली टोलीका खेलाडीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भविष्यको सुरक्षाको वारेमा प्रश्न गरेका छन् ।
हिजो भएको फाइनलमा पराजित महिला फुटबल टोलीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका हुन् ।
भेटका क्रममा खेलाडीले आफूहरुले सरकारबाट पाउनुपर्ने साथ सहयोग नै नपाएको गुनासो पोखे । खेलाडी प्रीति राईले अहिलेसम्मको प्रदर्शनबाट सन्तुष्ट नै रहे पनि सरकारको भूमिकाबाट भने फ्रस्टेड रहेको बताइन् ।
खेलाडीहरुलाई हरेक कुरामा सरकारको साथ चाहिन्छ । जस्तो म्यानेजमेन्टको कुरामा, इमोस्नल्ली सपोर्ट गर्ने कुरामा, फाइनान्सियल्ली सपोर्ट गर्ने कुरामा सरकारको साथ चाहिन्छ । हामी खेलाडीलाई खेलको मात्रै टेन्सनमा सिमित गर्न सकेमा राम्रो नतिजा पनि साथ साथै आउने राइले बताइन् ।
खेलाडीहरुले खेलाडी भएवापत् सरकार र सरोकारवाला निकायबाट पाउनुपर्ने साथ नपाउँदा खेलमा पनि आफूहरु ‘डिस्ट्रयाक्ट’ हुनुपरेको गुनासो प्रधानमन्त्री ओलीसमक्ष राखेका थिए । उनीहरुले मन लागेर खेल्न सक्ने वातावरण बनाइदिन पनि आग्रह गरेका थिए ।
घाइते भएको अवस्थामा उपचारै गर्न नसक्ने खेलाडीबाट सरकारले बिना लगानी धेरै अपेक्षा गर्न नहुने उनीहरुको भनाई थियो ।
खेलाडीको गुनासो सुनिसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुले राखेको मागप्रति आफू सकारात्मक रहेको बताए । तर, खेलाडीले माग्दै नमागेको रङ्गशालाको प्रसंग निकाल्दै ओलीले ‘रंगशाला पुरानो भइसकेकाले नयाँ रंगशालाका लागि ठाउँ खोजी भइरहेको र चाँडै बन्ने’ खेलाडीलाई बताए ।
प्रतिक्रिया दिनुहोस्