काठमाडौं । नेपाल र बंगलादेशबीच हुने साफ वुमन्स च्याम्पियनसिप २०२४ को फाइनल खेलको टिकट विक्री स्थगित गरिएको छ ।
घरेलु टोली नेपाल र बंगलादेशबीचको फाइनल खेल कात्तिक १४ गते बुधबारका लागि तय भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार एक सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि फाइनल खेलको टिकट बिक्री स्थगित गरिएको जनाएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको नेपाल र भारतबीचको सेमिफाइनलमा दर्शक क्षमताभन्दा बढी टिकट बिक्री गरेको भन्दै त्यसको बारेमा सत्यतथ्य बुझ्न टिकट बिक्री स्थगित गरिएको एन्फाले भनाइ छ ।
एन्फाले साफ वुमन्स च्याम्पिनयसिपको टिकट विक्रीको अधिकार माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिलाई बेचेको थियो ।
माउन्ट एभरेस्टले टेन्डर प्रक्रियामार्फत ८० लाख रुपैयाँमा टिकेटिङ अधिकार किनेको थियो । नेपाल र भारतबीचको खेलमा एन्फासँगको सम्झौता विपरीत रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको एन्फाको आरोप छ ।
दशरथ रंगशालको दर्शक क्षमता १५ हजार भएपनि आइतबारको खेल रिपोर्ट अनुसार १८ हजार भन्दा बढी दर्शकको उपस्थिति रहेको थियोे । सोही कारण रंगशालामा सिट व्यवस्थापन हुन सकेको थिएन ।
त्यसपछि एन्फाले बुधबार हुने बंगलादेश र नेपालबीचको फाइनल खेलको लागि टिकट बिक्री स्थगित गर्ने निर्णय गरेको एन्फा प्रवक्ता सुरेश शाहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
एन्फाले यो सार्वजनिक सूचनालाई बेवास्ता गर्दै टिकट बिक्री वितरण गरी कुनै समस्या आइपरेमा भोलिका दिनमा आफू जवाफदेही नहुने पनि जनाएको छ ।
साफ च्यम्पियनसिपमा समूह चरणका लागि साधारणतर्फ ३०० र भीआईपीतर्फ ५०० रुपैयाँ टिकटदर तोकिएको थियो भने नकआउट चरणका लागि साधारणतर्फ ५०० र भीआईपीतर्फ १००० रुपैयाँ मूल्य तोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस्