एजेन्सी । साविक विजेता पोर्चुगलले युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । समूह चरणको आफ्नो पहिलो खेलमा हंगेरीलाई ३–० गोल अन्तरले हराउँदै पोर्चुगलले विजयी सुरुवात गरेको हो । ‘ग्रुप अफ डेथ’ भनिएको समूह एफमा रहेको पोर्चुगललाई जिताउन कप्तान क्रिश्चियानो रोनाल्डोले दुई गोल गरे ।
राफायल गुइरेराले एक गोल गरे । घरेलु टोली हंगेरीले पहिलो हाफमा पोर्चुगललाई बराबरीमा रोकेको थियो । तर, दोस्रो हाफको अन्तिम १० मिनेटभित्र पोर्चुगलले तीन गोल हान्यो ।
खेलको ८४औं मिनेटमा रफायलले गोल गर्दै पोर्चुगललाई विजयको बाटोमा लगे । ८७ औँ मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै टोलीको जित बलियो पारे । हंगेरीका विली ओर्बानले राफा सिल्भालाई पेनाल्टी क्षेत्रमा लडाएपछि पोर्चुगलले पेनाल्टी पाएको हो । जुन पेनाल्टी रोनाल्डोले खेर फालेनन् ।
खेलको इन्जुरी समयको दोस्रो मिनेटमा रोनाल्डोले अर्को गोल गरे । रोनाल्डोले राफा सिल्भाको पासलाई सदुपयोग गरेका हुन् ।
रोनाल्डोका कीर्तिमान
युरोकप १६औं संस्करणको समूह चरण अन्तर्गत आफ्नो पहिलो खेलमा हंगेरीविरुद्ध दुई गोल गरेका रोनाल्डोले युरोकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् ।
रोनाल्डोले युरोकपमा ११ गोल गर्दै कीर्तिमान बनाएका हुन् । रोनाल्डोले फ्रान्सका मिचेल प्लाटिनीले बनाएको ९ गोलको कीर्तिमान तोडिदिएका छन् । यस्तै, ३६ वर्षीय रोनाल्डोले पाँच संस्करणको युरोकप खेल्ने पहिलो खेलाडीको कीर्तिमान समेत रचेका छन् ।
रोनाल्डोले यसअघि युरोकपका चार संस्करण खेलिसकेका छन् । उनले पहिलो पटक सन् २००४ को युरोकप खेलेका थिए । त्यसपछि उनले २००८, २०१२ र २०१६ को संस्करण खेले । २०१६ मा रोनाल्डोको कप्तानीमै पोर्चुगलले उपाधि जितेको थियो ।
यस्तै, रोनाल्डो लगातार पाँच संस्करणमा गोल गर्ने खेलाडी समेत बनेका छन् । रोनाल्डोले युरो प्रवेश गर्दा सन् २००४ को संस्करणमा २ गोल गरेका थिए । त्यसपछिको तीन संस्करणमा १, ३, ३ गोल गरेका छन् ।
यो जितले पोर्चुगल समूहको शीर्ष स्थानमा छ । फ्रान्स गोल अन्तरले दोस्रो स्थानमा छ भने जर्मनी तेस्रो र हंगेरी चौथो स्थानमा छन् ।


विश्व खबर 



















