काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान–अवतरण पुनः सुरु भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार अहिले भिस्टाराको जहाज पछाडिबाट अरू जहाज उड्न जाने बाटो (ट्याक्सिङ) रोकिएको छ ।
वैकल्पिक मार्गबाट जहाजहरू धावनमार्ग पुर्याएर उडान सुरु गरिएको उनले जानकारी दिए ।
भिस्टारामा भने यात्रु र ह्यान्ड ब्यागको चेकिङ सकिएको छ । अब कार्गो कम्पार्टमेन्टमा रहेका ब्यागेज चेकिङ गरिने छ ।
त्यसपछि शंकास्पद वस्तु भेटिए बम डिस्पोजल टोलीले त्यसलाई निष्क्रिय गर्नेछ, भने नभेटिए ‘फेक कल’ घोषित गरी यो जहाजलाई उडानका लागि रिलिज गरिने उनले जानकारी दिए ।
नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार भिस्तारा एयरको विमानमा बम राखेको हल्लापछि नेपाली सेनाको विस्पोटक पदार्थ निस्किृय गर्ने विशेष टोलीले खानतलासी गरिरहेको छ । यात्रुललाई सुरक्षित गरेर खानतलासी भइरहेको र अहिलेसम्म कुनै त्यस्तो वस्तु फेला नपरेको उनले बताए ।
भिस्ताराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त विमानमा बम राखेको फोन दिल्लीबाटै आएको सूचनाका आधारमा अनुसन्धान भइरहेको जनाइएको छ ।
काठमाडौँ विमानस्थलको उडान नियमित रुपमै सञ्चालन भइरहेको र बमको हल्ला रहेको भिस्ताराको विमान नजिक अन्य विमानलाई पार्किङ गर्न नदिइएको भुलले बताए ।
भारतमा पछिल्लो एक सातामा कम्तीमा १०० विमानमा बम रहेको भन्दै गलत सूचना प्रवाह भएको छ । यसले भारतको विमान सेवामै तनावको स्थिति सिर्जना गराएको छ ।
आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा उडानमा यस्तो थ्रेट आइरहेको भारतका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । गएको शनिबार मात्र भारतमा एकैदिन ३० वटा धम्कीका सूचना बाहिर आएका थिए । आइतबार कम्तिमा २० वटा विमानमा बमको थ्रेट दिइएको थियो ।


विश्व खबर 
















