images
images
  • हनी ट्रयाप प्रकरणमा कसरी जोडिए अख्तियारका एसपी थापा !

    काठमाडौं-युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउन खोजेको आरोपमा अहिले चार जना ललितपुरमा प्रहरी हिरासतमा छन् ।

    ९ असोजमा पक्राउ परेका प्रहरी प्रभाग भैंसेपाटीका सहायक हवल्दार महेन्द्र हमाल, सुनसरी इटहरीकी सुष्मा विक, ताज स्लाम र भीमादेवी थापामाथि आपराधिक लाभ र संगठित अपराध मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ । सहायक हवल्दार हमालमाथि युवतीको प्रयोग गरेर (हनी ट्र्याप) व्यवसायीबाट असुल गरिएको रकम दुई पटक आफैंले बैंकमा जम्मा गर्न लगाएको आरोप छ । हिरासतमै रहेकी सुष्मा विक हनी ट्र्यापमा व्यवसायीलाई फसाउन प्रयोग भएकी युवती र ताज स्लाम हनी ट्रयापको मुख्य योजनाकार रहेको प्रहरीको दाबी छ।

    उनकै योजनामा बलात्कारमा फसाइदिने भन्दै एक व्यवसायीबाट ३० लाख रुपैयाँ असुलिएको आरोप छ। यसरी असुल गरिएको रकम भीमादेवीको खातामा जम्मा गरिएको प्रहरीको भनाइ छ । यो घटनामा पक्राउ पुर्जी जारी भएका प्रहरी प्रभाग भैंसेपाटीकी तत्कालीन इन्सपेक्टर बिनुकुमारी शाही र इटहरीका दर्शन पोखरेल भने फरार छन् ।

    हिरासतमा रहेकी सुष्मा सुनसरीकै एक होटलमा वेटरको रुपमा काम गर्दै आएकी थिइन् । त्यसै क्रममा होटलमा आउने जाने एक व्यवसायीसँग उनको चिनजान भएको थियो । त्यसपछि उनीहरु नजिकिँँदै गएका थिए । हिरासतमा रहेका ताज र फरार दर्शनले यस्तै प्रकृतिका घटनामा युवतीलाई बलात्कारको उजुरी दिन लगाएर मोटो रकम असुल्दै आएको पाइएको प्रहरी अधिकारीहरु बताउँछन् । ती व्यवसायीसँगको सम्बन्धबारे थाहा पाएपछि उनीहरुले सुष्मालाई प्रयोग गरेर रकम असुल गरेको प्रहरीको निष्कर्ष छ ।

    त्यसका लागि उनीहरुले आफू अनकुल ठाउँको खोजी गरेका थिए । यसअघि पनि सुनसरीको एसपी भएका कमल थापासँग ताजको राम्रो सम्बन्ध रहेकाले उनी थापामार्फत नै भैंसेपाटी पुगेको समितिको निष्कर्ष छ । हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा रहेका एसपी थापा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रमुख भएका बेला इन्सपेक्टर बिनुकुमारी शाही पनि कञ्चनपुरमै कार्यरत थिइन् ।

    सोही चिनजानमा एसपी थापाको सिफारिसमा उनीहरु भैंसेपाटी पुगेको प्रहरीको भनाइ छ । पक्राउ परेका चारै जनाले पनि यसअघि इन्सपेक्टर शाहीसँग चिनजान नभएको बताएका छन् ।
    घटना सुरुबाटै शंकास्पद
    सुनसरीबाट ताज र दर्शन जहाजमा र सुष्मा र भीमा गाडी चढेर काठमाडौं आएर ७ असोजमा शान्ति सुरक्षामा असर पारेको भन्दै एक व्यवसायीविरुद्ध प्रहरी प्रभाग भैंसेपाटीमा निवेदन दिएका थिए । शान्ति सुरक्षाको निवेदन जिल्ला प्रशासन कार्यालयमार्फत प्रहरीकोमा आउनुपर्नेमा सुरुमै प्रहरीमा दर्ता गराइएकाले सुरुबाटै घटना शंकास्पद बनेको अनुसन्धान अधिकारीहरु बताउँछन् । शान्ति सुरक्षाको निवेदन भनिए पनि आरोपित भनिएका व्यापारीसँग शान्ति सुरक्षाका विषयमा नभई बलात्कारको विषयमा छलफल गराइएको प्रहरी स्रोतको दाबी छ ।

    बलात्कारकै कसुर भए पनि भैंसपाटीबाट मुद्दा चल्ने कार्यालय नभएकाले जिल्ला प्रहरी परिसर ललितपुर पठाउनुपर्ने थियो । घटना सुनसरीको भन्ने थाहा हुँदाहुँदै निवेदन लिएर कार्यक्षेत्र बेगर गएको, माथिल्लो निकायलाई कुनै रिपोर्ट नगरेको आरोप भैंसेपाटीकी तत्कालीन इन्सपेक्टर शाहीमाथि सुरुवाती क्रममा लागेको थियो ।

    इन्सपेक्टर शाहीले १० लाखको चेक र फोन नै गायब !
    अनुसन्धानको क्रममा रकम जम्मा गर्न लगाउनेदेखि मोबाइल समेत गायब बनाउने भूमिकामा उनी संलग्न रहेको देखिएपछि अहिले पक्राउ पुर्जी जारी भएको छ ।
    घटनाबारे छानबिन गर्न परिसर ललितपुरले डीएसपी नरहरि अधिकारीको नेतृत्वमा समिति गठन गरेको थियो । उक्त समितिले हनी ट्रयाप प्रकरणका मुख्य योजनाकार ताज स्लामको मोबाइल र १० लाख रुपैयाँको चेक इन्सपेक्टर शाहीले नै गायब पारेको निष्कर्ष निकालेको स्रोतले बतायो ।

    व्यापारीलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै प्रहरी कार्यालयभित्रै इन्सपेक्टर शाहीकै रोहबरमा ६० लाख रुपैयाँ माग भएको थियो । पछि ३० लाख रुपैयाँ दिने सहमति भएपछि कुरा मिलेको थियो । जसअनुसार १३ लाख र ७ लाख रुपैयाँ गरेर दुई पटकमा भीमाकुमारीको खातामा २० लाख रुपैयाँ रकम जम्मा भएको थियो । उक्त रकम जम्मा गर्ने बेलामा इन्सपेक्टर शाहीकै गाडी चालक हमाल समेत एभरेष्ट बैंक पुगेको एक अनुसन्धान अधिकृतले बताएका छन् । ती व्यापारीले १० लाखको भने चेक दिएका थिए । पीडित व्यापारी जिल्ला प्रहरी परिसर ललितपुरमा गएर घटनाबारे बताएपछि अनुसन्धान गर्दा इन्सपेक्टर शाहीको भूमिका समेत गम्भीर देखिएको हो ।

    घटनाबारे बुझ्न जिल्ला प्रहरी परिसरले इन्सपेक्टर शाहीलाई बोलाएको थियो । त्यतिबेला भैंसेपाटीमै रहेका ताज स्लाम र सुष्मा विकलाई लिएर शाही साँझ ६ बजे जिल्ला प्रहरी परिसर ललितपुर पुगेकी थिइन् । ताजको मोबाइलमा भएका प्रमाणबाट थप रहस्य खुल्ने भएपछि उनै शाहीले उनको मोबाइल र भीमाको नाममा रहेको १० लाखको चेक गायब बनाएको समितिले औंल्याएको छ ।

    ताजको मोबाइल इन्सपेक्टर शाहीले लिएर सुष्माको मोबाइलमा भएको फिंगर प्रिन्टसमेत परिवर्तन गरेर ताजको फिंगर प्रिन्ट सेट गरिएको खुलेको छ । ताजले समेत सुरुमा उक्त मोबाइल आफ्नो भएको बताएका थिए । तर अनुसन्धानका क्रममा उक्त मोबाइल ताजको नभई सुष्माको भएको खुलेको छ ।

    इन्सपेक्टर शाहीले गायब बनाएको १० लाखको चेक र ताजको मोबाइल अहिलेसम्म फेला परेको छैन । छानबिन समितिले फौजदारी कसुरमै कारबाही हुनुपर्ने भन्दै प्रतिवेदन बुझाएपछि ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत लिइएको थियो । यद्यपि उनी अहिलेसम्म फरार छन् । ललितपुरका एसएसपी शेखर खनाल इन्सपेक्टर शाहीको खोजी भइरहेको बताउँछन् । ‘फेला पर्नासाथ नियन्त्रणमा लिएर कारबाही अघि बढाउँछौं’, उनले भने ।

    सो समूहले ललितपुरको साना गाउँका घरजग्गा कारोबारीबाट ३० लाख असुलेको थियो । पछिल्लो पटक पक्राउ परेकी भीमादेवीको खातामा दुई पटकमा २० लाख रुपैयाँ जम्मा भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

    इन्सपेक्टर शाहीले समितिसमक्ष बयान दिन किन गरिन् इन्कार ?
    इन्सपेक्टर शाहीलाई जिल्ला प्रहरी परिसरले १० असोजमा जिम्मेवारीबाट हटाइएको थियो । त्यसपछि समितिले इन्सपेक्टर शाहीको मोबाइल समेत नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । डीएसपी अधिकारी नेतृत्वको समितिले उनलाई बोलाए पनि बयान दिन इन्कार गरेकी थिइन् ।

    ‘बयानका लागि उपस्थित भइन् । तर यो समितिमाथि मलाई विश्वास छैन भन्दै इन्सपेक्टर शाहीले बयान दिइनन्’, समिति एक सदस्यले भने । त्यसपछि समितिले शाहीले बयान दिन इन्कार गरेको भन्दै टिप्पणी उठाएर प्रतिवेदन बुझाएको थियो ।

    ‘त्यसपछि योजनाकारसँग एसपीको पौने घण्टा एयरपोर्ट रेष्टुरेन्टमा भेट’
    डीएसपी अधिकारी नेतृत्वको समितिले एसपी कमल थापामाथि अनुसन्धान गर्न सुझाव दिएको छ । ७ असोजमा हनी ट्रयाप प्रकरणका मुख्य योजनाकार ताज स्लाम र एसपी थापाबीच एक पटक फोनमा कुराकानी भएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख दिन सहमत गराएको र २० लाख रुपैयाँ बुझेको दिन एसपी थापा र ताज स्लामबीच भेटघाट भएको सीसीटीभी फुटेज समेत समितिले फेला पारेको छ ।उनीहरुबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिको एक रेष्टुरेन्टमा ७ असोजको साँझ साढे ६ बजे भेट भएको र करिब पौने घण्टा जति भेटघाट भएको फुटेज समेत समितिले प्राप्त गरेको थियो ।

    ‘उनीहरुबीच के–के कुराकानी भए भन्ने विषय थाहा भएन । तर भैंसेपाटीमा उजुरी हाल्नुअघि फोन सम्पर्क हुनु र काम भइसकेपछि पनि रेष्टुरेन्टमा आधा घण्टासम्म कुराकानी हुन शंकास्पद देखिन्छ’ समितिका एक सदस्यले भने । ताज स्लाम र एसपी थापाबीच यसअघि पनि सम्पर्क हुने गरेको र एसपीमार्फत नै सुनसरीको यो घटना भैंसेपाटीमा उजुरी दिएर रकम असुल्ने योजनाअनुसार काम भएको समितिको निष्कर्ष छ ।

    …अनि एसपी थापा हेडक्वार्टर तानिए
    यो प्रकरणमा नाम जोडिएपछि प्रहरी प्रधान कार्यालयले एसपी थापालाई फिर्ता बोलाएको छ । प्रहरी स्रोतका अनुुसार उनलाई दशैं बिदालगत्तै हेडक्वार्टर तानिएको हो । अहिले प्रहरी प्रधान कार्यालयकै उजुरी तथा छानबिन शाखाले एसपी थापामाथि छानबिन गरिरहेको छ । उजुरी छानबिन शाखाको प्रमुखमा अहिले एसएसपी गणेश चन्द छन् भने एसपी प्रकाश मल्ल छन् ।
    ‘अहिले एसपी थापामाथि छानबिन भइरहेको छ । के कारबाही हुन्छ छानबिनपछि मात्रै टुंगो लाग्ला’, उक्त शाखाका एक अधिकृतले भने ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images