
काठमाडौं । समस्याग्रस्त घोषित १० सहकारी संस्थाका बचतकर्तालाई छुट मागदाबी पेस गर्न १५ दिनको समय दिइएको छ ।
पहिले माग दाबी पेस भएपनि कसैको छुटेको भए पुन: पेस गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले दोस्रोपटक सूचना प्रकाशित गर्दै १५ दिनको मौका दिएको हो ।
समितिले बिहीबार सूचना प्रकाशित गर्दै अन्तिम पटक छुट दाबीका लागि १५ दिनको समय दिएको जनाएको छ ।
छुट दाबी पेस गर्नेले पहिले मागदाबी पेस गर्नेको बचत रकम फिर्ता भएपछि बाँकी हुन आएको रकमबाट मात्रै दामासाहीमा बचत फिर्ता हुने समितिको सूचनामा उल्लेख छ ।
समस्याग्रस्त सहकारी संस्थाका सदस्य, बचतकर्ता तथा साहुहरूलाई आफूले पाउनुपर्ने रकमको दाबी पेस गर्न राष्ट्रिय पत्रपत्रिकामा प्रथम पटक ३५ दिन र दोस्रो पटक १५ दिन दिई आफ्नो दाबी पेस गर्न सूचना प्रकाशित भएको समितिले जनाएको छ ।
उक्त सूचना अनुसार मागदाबी पेस नगर्नेलाई उक्त समयमा मागदाबी पेस गर्नेको बचत फछ्र्योट भएपछि असुल भएको रकमबाट मात्रै बचत फिर्ता हुने समितिले जनाएको छ ।
समितिले तुलसी बहुमुखी सहकारी संस्था, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो नयाँ कृषि सहकारी संस्था, कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था, कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी संस्था, श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्था, गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था, गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था, पशुपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ र नेपाल वित्तीय सहकारी संस्थाका बचतकर्तालाई छुट मागदाबी पेस गर्ने अवसर दिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्