images
images
  • दसैंको दक्षिणा खुत्रुकेमा होइन एसआईपीमा राखौं, वर्षैपिच्छे १० हजार मात्रै राख्दा पनि २५ वर्षमा हुन्छ १५ लाखभन्दा धेरै

    काठमाडौं । पछिल्लो समय तपाईंले एसआईपीको नाम त कतै न कतै सुन्नु भएकै होला ।

    एसआईपी अर्थात् ‘सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान’ भनेको व्यवस्थित रूपमा लगानी गर्दै जाने खुलामुखी म्याचुअल फण्ड योजना हो ।

    ज्याला मजदुरी, जागिर वा बोनसबाट आउने पैसाबाट एसआईपी सुरु गरेको देखिन्छ । तर के वर्षमा एक/दुई पटक मात्रै पाइने दक्षिणाबाट पनि एसआईपी सुरु गर्न सकिन्छ ? अवश्य पनि सकिन्छ ।

    एसआईपी न्युनतम १ हजार रुपैयाँबाट सुरु गर्न सकिन्छ । अहिले दशैं तिहारमा धेरै जसो बालबालिकासँग १ हजार मात्र होइन १० हजार सम्म दक्षिणा पाएको पैसा हातमा छ । त्यो रकमलाई एसआपीमा लगानी गर्ने अभिभावकको निर्णय गलत हुन सक्दैन ।

    एसआईपीमा महिनैपिच्छे वा ३–३ महिना वा ६–६ महिना वा वर्षमा एकपटक मात्र तिर्ने गरी निश्चित रकम छुट्याएर एसआईपीमा सहभागी हुन सकिन्छ । त्यसो भए दसैं त हरेक वर्ष आउँछ, दसैंमा आएको पैसालाई नै एसआईपीमा किन नलगाउने ?

    एसआईपी लगानी गरेपछि केही वर्षपछि लगानी र प्रतिफल एकमुष्ट झिक्न सकिन्छ । धेरै रकम लगानी गर्नेहरुले भने योजना व्यवस्थापक (एसआईपी गरिदिने कम्पनी) बाट वर्षैपिच्छे नगद लाभांश लिने गरेको पनि पाइन्छ । तर सानो सानो रकम लगानी गर्नेहरुले भने २०/२५ वर्षपछि एकमुस्ट लिने योजना बनाएमा ठूलो रकम हात पार्न सक्छन् ।

    नेपालमा हालसम्म ७ वटा खुलामुखी म्याचुअल फण्ड योजनाहरु सञ्चालनमा छन् । सबैभन्दा पहिले एनआईबीएल सहभागिता फन्ड सञ्चालनमा आएको थियो ।

    पछिल्लो समय आएका एसआईपीमा सहज रुपले स्किम परिवर्तन गर्न सक्ने लगानीको रकम बढाउन वा घटाउन सक्ने सुविधा पनि छन् ।

    कुमारी सुनौलो लगानी योजना, एनआईसी एसिया डाइनामिक डेप्ट फन्ड, नबिल फ्लेक्सी क्याप फन्ड, एनएमबी सरल बचत फन्ड, सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम र शुभलक्ष्मी कोष एसआईपी सञ्चालनमा छन् । यिनै योजनामध्ये आफूलाई उपयुक्त लागेको योजना वारे अध्ययन गरेर एसआईपी सुरु गर्न सकिन्छ ।

    सर्वसाधारणले एसआईपीमा गरेको लगानीबाट योजना व्यवस्थापक कम्पनीले म्युचुअल फन्डका खुलामुखी योजनाबाट इकाइ प्रदान गर्छन् । यी योजनाको अंकित मूल्य प्रतिइकाइ १० रुपैयाँ हुने गर्छ ।

    एसआईपी व्यवस्थापक कम्पनीले यो रकम धितोपत्रको प्राथमिक र दोस्रो बजारमा लगानी गर्छन् । कतिपय ऋणपत्रमा पनि लगानी गर्छन् । केही रकम बैंकको मुद्धतीमा पनि राख्छन् । यस किसिमको लगानी विविधीकरणले लगानीको जोखिम कम गर्छ ।

    योजनाको रकम लगानी भएका विभिन्न कम्पनीका सेयर वा अन्य सम्पत्तिको मूल्य बढ्दै जाँदा योजनाको इकाइ मूल्य (न्याभ) पनि बढ्दै जान्छ ।

    एसआईपीमा कसरी सहभागी हुने ?

    एसआईपी मार्फत गरिने लगानी बिस्तारै समय अनुसार मासिक वा त्रैमासिक रूपमा निश्चित रकम लगानी गर्न सकिन्छ । यसमा लगानीको औसत लागत निकाल्दै चक्रवृद्धि ब्याजको फाइदा लिन सकिन्छ । लगानी भइरहँदा पैसा समयसँगै कम्पाउन्डिङको नियमानुसार बढ्दै जान्छ ।

    लगानीकर्ताले एसआईपी छनोटका लागि आवेदन दिनुपर्ने हुन्छ । यसमा लगानीकर्ताले एसआईपी मिति, योजनाको रकम, समयावधि र मासिक किस्ता जस्ता आवश्यक जानकारी उपलब्ध गराउनुपर्छ ।

    लगानीकर्ताले आफ्नो सुविधाका आधारमा चेक वा अनलाइन माध्यमबाट लगानी रकम पठाउन सक्छन् । महिनैपिच्छे वा त्रैमासिक लगानीका लागि भुक्तानी गर्ने रकम पनि अनलाइनबाटै गर्न सकिन्छ ।

    त्यसपछि योजनाको इकाइ लगानीकर्तालाई प्राप्त हुन्छ । हरेक महिना वा त्रैमासिक रूपमा लगानीकर्ताले रकम तिर्दै जाँदा योजनाको इकाइ पनि बढ्दै जान्छ । त्यो योजनाबाट पाउने नगद लाभांश नगदकै रूपमा लिन वा फेरि लगानी गरी इकाइ पनि थप्न सकिन्छ ।

    मानौ अहिले कसैले वार्षिक १० हजार रुपैयाँ मात्रै एसआइपी लगानी गर्ने निर्णय लियो भने २५ वर्षपछि उक्त लगानी करीव १५ लाख रुपैयाँ हाराहारी भएर हातमा आउन सक्छ । यसको लागि एसआईपी क्याल्कुलेटरबाट हिसाब निकाल्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images