एजेन्सी । युरोकप फुटबलमा स्लोभाकियाले विजयी सुखद सुरुवात गरेको छ । सोमबार राति १० खेलाडीमा समेटिएको पोल्याण्डलाई २–१ गोल अन्तरले हराउदै स्लोभाकियाले सुखद सुरुवात गरेको हो ।
रुसको सेन्ट पिटर्सवर्गमा भएको खेलको १८औं मिनेटमा पोल्याण्डका गोलरक्षक वजचिएक सेचेज्नीको आत्मघाती गोलबाट स्लोभाकियाले अग्रता बनायो । स्लोभाकियाका रोबर्ट माकले प्रहार गरेको बल पोस्टमा लागेर फर्कदै गोलरक्षक वजचिएकलाई लाग्दै गोलमा परिणत भएको थियो ।
यद्यपि, खेलको ४६औँ मिनेटमा कारोल लिन्टीले गोल गर्दै पोल्याण्डलाई १–१ गोलको बराबरीमा फर्काए । ६२औं मिनेटमा पोल्याण्ड १० खेलाडीमा समेटियो । पोल्याण्डका मध्यपंक्ति ग्रेगोर्ज क्रिचोवियकले दोहोरो पहेलो कार्ड पाएपछि मैदानबाट बाहिरिए ।
खेलको ६९औं मिनेटमा मिलान स्क्रिनरले गोल गर्दै स्लोभाकियालाई २–१ को जित दिलाए । यो जितसँगै समूह ‘इ’ को स्लोभाकियाले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ ।
उता, स्पेन र स्विडेन भने गोलरहित बराबरीमा रोकिए । सेभियामा सोमबार राति स्पेन र स्विडेनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।
यो बराबरीसँगै समूह ‘ई’ को स्पेनले १ अंक जोडेको छ । स्पेन समूहको दोस्रो स्थानमा छ । समान १ अंक रहेको स्विडेन तेस्रो स्थानमा छ । यो समूहमा स्पष्ट ३ अंक जोडेको स्लोभाकिया शीर्ष स्थानमा छ ।


विश्व खबर 



















