• खाद्य पदार्थको भार बढाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्दै राष्ट्र बैंक

    ९ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ आधार वर्ष बनाएर ‘उपभोक्ता मूल्य सूचकांक’ सार्वजनिक गर्ने भएको छ ।

    यसअघि ‘उपभोक्ता मूल्य सूचकांक’ आव २०७१/७२ लाई आधार वर्ष मानेर गणना हुँदै आएको थियो । यो वर्षबाट २०८०/८१ लाई नयाँ आधार वर्ष मानेर उपभोक्ता मूल्य सूचकांक सार्वजनिक गरिने भएको हो ।

    राष्ट्र बैंकले हाउसहोल्ड बजेट सर्वेक्षण गर्ने गरेकोमा यो वर्ष केन्द्रीय तथ्याकं कार्यालयले गरेको नेपाल जीवनस्तर सर्वेक्षण र आधार मूल्यको तथ्यांक राष्ट्र बैंकले संकलन गरेको छ ।

    त्रिभुवन विश्वविद्यालय तथ्यांक विभाग, केन्द्रीय तथ्यांक कार्यालय र राष्ट्र बैंकको संयुक्त कमिटीले उपभोक्ता मूल्य सूचकांक तयार गरेको हो ।

    किन गरियो आधार वर्ष परिवर्तन ?

    केन्द्रीय बैंकले उपभोगको प्रवृत्ति, मूल्य संकलन केन्द्र विस्तार गरी ७७ जिल्लाको ८७ केन्द्र र मूल्य भार पाँच वर्षमा परिवर्तन हुनुपर्ने मान्यता अनुसार आधार वर्ष परिवर्तन गरिएको हो ।

    पहिले प्रयोग नहुने वस्तु प्रयोग हुने र विगतमा प्रयोग हुने वस्तु अहिले प्रयोग नहुँदा हटाउनुपर्ने कारण आधार वर्ष परिवर्तन गरिएको केन्द्रिय बैंकले जनाएको छ ।

    यस्तै देश संघीयतामा गएपछि संघीय संरचना अनुसार तथ्यांक संकलन गर्न पनि आधार वर्ष परिमार्जन गरिएको बैंकले जनाएको छ ।

    १ लाख २ हजार भन्दा बढी मूल्यका भार अंकसहित औसत निकालेर उपभोक्ता मूल्य सूचकांक निकालिन्छ । ५ सय २५ वस्तु तथा सेवाको मूल्यका आधारमा नयाँ मूल्य सूचकांक निकालिएको छ ।

    जसमा प्रत्येक साता ५९ वस्तु तथा सेवा मासिक ९४ वस्तु तथा सेवा र त्रैमासिक रुपमा ३ सय ७२ वस्तु तथा सेवाको मूल्य संकलन हुने भएको छ ।

    पुरानो आधार वर्ष अनुसार खाद्य तथा पेय पदार्थ समूहको भार ४३.९१ प्रतिशत रहेकोमा नयाँ आधार वर्षमा ४५.७९ प्रतिशत पुगेको छ । गैरखाद्य तथा सेवा समूहको भार ५६.०९ बाट ५४.२१ प्रतिशत भएको छ ।

    राष्ट्र बैंकले अवदेखि सातै प्रदेशको उपभोक्ता मूल्य सूचकांक पनि सार्वजनिक गर्ने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्