
काठमाडौँ । आज बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सरकारका निर्णय सार्बजनिक गरेका हुन् ।
मन्त्रिपरिषद्को बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्नेसम्बन्धी वित्तीय सम्झौता र कार्यक्रम दस्तावेजलाई अन्तिम रूप दिन नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।
२०८१ भदौ ११ देखि १४ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने नुट्रिसन फाइनान्सिङसम्बन्धी कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका माननीय सदस्य प्रा.डा. आर.पि. विच्छालाई स्वीकृति प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ ।
त्यस्तै २०८१ असोज ९ देखि १० सम्म उज्वेकिस्तानको समरखण्डमा आयोजना हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको नवौं वार्षिक बैठकमा अर्थमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति प्रदान समेत बैठकले गरेको छ ।
बैठक परराष्ट्र मन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डललाई २०८१ भदौ २ देखि ६ गतेसम्म भारत भ्रमणको लागि स्वीकृति प्रदान गरेको छ ।
हेरौं निर्णयहरु
प्रतिक्रिया दिनुहोस्