images
images
  • टी-२० विश्वकप: युगान्डालाई पराजित गर्दै अफगानिस्तानको विजयी सुरुवात

    काठमाडौं- आईसीसी पुरुष टी-ट्वेन्टी विश्वकप २०२४ मा अफगानिस्तानले विजयी सुरुवात गरेको छ ।

    अआज भएकोे समूह ‘सी’ को खेलमा अफगानिस्तानले युगाण्डालाई एक सय २५ रनको फराकिलो अन्तरले पराजित गरेको हो । अफगानिस्तानको जितमा फजलहक फारुकीले ५ विकेट लिए भने इब्राहिम जद्रान र रहमानउल्लाह गुरबाजले पहिलो विकेटका लागि शतकीय साझेदारी गरे ।

    अफगानिस्तानले जितका लागि दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको युगाण्डा १६ ओभरमा सबै विकेट गुमाउँदै मात्रै ५८ रन बलमा समेटियो । विश्वकपमा डेब्यु गरेको युगाण्डाका लागि रोबिन्सन ओबुयाले १४ र रिआजत अली साहले ११ रन बनाउनुबाहेक कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

    युगाण्डालाई ५८ रनमा समेट्ने क्रममा अफगानिस्तानका फजलहक फारुकी एक्लैले पाँच विकेट लिए भने नवीन उलहक र कप्तान राशिद खानले समान दुई–दुई विकेट लिए । त्यस्तै मुजिब उर रहमानले एक विकेट झारे ।

    त्यसअघि प्रोभिडेन्समा टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ८३ रनको योगफल बनाएको थियो । उसका लागि ओपनरद्वय रहमानुल्लाह गुर्बाज र इब्राहिम जद्रानले अर्धशतकीय पारी खेलेका थिए । गुर्बाजले ४५ बलमा चार चौका र चार छक्का प्रहार गर्दै ७६ रनको योगदान दिए भने इब्राहिमले ४६ बलमा नौ चौका र एक छक्का प्रहार गर्दै ७० रन बनाए ।

    त्यस्तै मोहम्द नाबीले अविजित १४ रन बनाए । बलिङतर्फ युगाण्डाका ब्रायन मसाबा र कस्मस क्येवुटाले समान दुई–दुई विकेट लिए भने अलेपेश रमजानीले एक विकेट झारे । समूह ‘सी’मा अफगानिस्तान र युगाण्डासँगै वेष्ट इन्डिज, न्यूजील्यान्ड र पपुवा न्युगिनी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images