images
images
  • टि-२० विश्वकप: श्रीलंकालाई ७७ रनमा अलआउट गर्दै दक्षिण अफ्रिका विजयी सुरुवात

    काठमाडौं-दक्षिण अफ्रिकाले आइसिसी टि-२० विश्वकप २०२४ मा विजयी सुरुवात गरेको छ । समूह डी अन्तर्गत न्यूयोर्कमा भएको खेलमा दक्षिण अफ्रिकाले श्रीलंका माथि ६ विकेटको जित दर्ता गर्दै सुखद सुरुवात गरेको  हो ।

    श्रीलंका ७७ रनमा अलआउट भएपछि दक्षिण अफ्रिकाले विश्वकपको पहिलो खेल जितेको हो । 

    ब्याटिङका लागि केही असहज रहेको पिचमा खेलाईएको खेलमा श्रीलंकाले दिएको ७८ रनको झिनो लक्ष्य दक्षिण अफ्रिकाले १६.२ ओभरमा ४ विकेट गुमाएर भेटायो । झिनो लक्ष्य रहेपनि ब्याटिङ गर्न दक्षिण अफ्रिकी ब्याटरहरुलाई समयमा उत्पन्न भएको थियो । तर अन्त्यमा दक्षिण अफ्रिकाले सहजै लक्ष्य भेटायो ।

    जितमा दक्षिण अफ्रिकाका लागि क्विन्टन डीककले २७ बलमा २० रन बनाए । यस्तै हेनरीक क्लासेन २२ बल खेल्दै १९ रनमा अविजित रहे । ट्रिस्टन स्टब्सले २८ बलमा १३ रन बनाएर आउट भए । कप्तान एइडन मारक्रमले १२ रन जोडे ।

    श्रीलंकाका लागि वानिन्दु हसरंगाले २ तथा दसुन शनाका र नुवान थुसराले १/१ विकेट लिए ।

    त्यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंका १९.१ ओभरमा ७७ रनमा समेटिएको थियो । कुशल मेण्डिसले ३० बल खेल्दै सर्वाधिक १९ रन बनाए । एन्जेलो म्याथ्युजले १६ तथा कामिन्दु मेण्डिसले १६ रन जोडे ।

    दक्षिण अफ्रिकाका एनरिक नोर्टजे एक्लैले ४ विकेट लिए । केशव महाराज र कागिशो रबाडाले २.२ विकेट लिँदा १ विकेट ओटनिल बार्टमनको नाममा रह्यो ।

    दक्षिण अफ्रिका र श्रीलंका बाहेक यस समूहमा नेपाल, नेदरल्याण्ड्स र बंगलादेश रहेका छन् । नेपालले मंगलबार बेलुका नेदरल्याण्ड्सको सामना गर्दै १० वर्षपछि टि-२० विश्वकपमा पुनरागमन गर्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images