
सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित प्राचीन हरिद्वार चतराधाममा बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला सम्पन्न भएको छ । गत चैत्र २७ गतेदेखि सुरु भएको उक्त बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला आज समापन भएको हो । १२ वर्षपछि आयोजना भएको उक्त मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको थियो । समापन समारोहमा मुख्य सचिव डा बैकुण्ठ अर्यालले प्रमुख अतिथि रहनुभएको थियो । चैत महिनाको शुक्ल प्रतिपदादेखि वैशाख शुक्ल अक्षय तृतीय अर्थात् वैशाख २८ गतेसम्म गरी ३२ दिन कुम्भ मेला सञ्चालन भएको हो ।
उक्त मेलामा हजारौँ भक्तजनको सहभागिता रहेको बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख कार्कीले बताउनुभयो । बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा भक्तजनको आगमन हेर्दा चतराधाममा कुम्भ मेला स्थापित भएको जगतगुरू बालसन्त महाराजको भनाइ रहेको छ ।
शास्त्रीय मान्यताअनुसार नेपालमा रूद्राक्षको वनमा अमृतको तरलाई पिण्ड बनाएर स्थापना गरिएपछि यसै स्थानमा कुम्भको राजधानीका रूपमा मेलाको प्रचलन सुरू गरिएको जगतगुरू देवाचार्य बताउनुभयो ।
चतराधाममा पहिलो पटक २०५९ साल चैत ६ गते कुम्भ मेला धार्मिक महोत्सवका रूपमा प्रारम्भ भएको थियो । यहाँ प्रत्येक छ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्णमहाकुम्भ मेला लाग्ने गरेको छ । यसैगरी विसं २०६३ चैत ६ गतेदेखि एक महिनासम्म अर्धकुम्भका रूपमा प्राचीन हरिद्वार चतरामा मेला लागेको थियो । यसअघि विसं २०७० मा १२ वर्षे महाकुम्भ मेला आयोजना गरिएको थियो । यहाँ अर्धकुम्भ मेला विसं २०७५ र ०७६ मा लागेको थियो ।
प्रतिक्रिया दिनुहोस्