
ललितपुर- महाङ्काल गाउँपालिकामा जारी प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको सेमिफाइनल मंगलबार हुँदैछ।
प्रतियोगितामा घरेलु टोली महाङ्काल गाउँपालिका, सिन्धुलीको घ्याङलेख गाउँपालिका, मकवानपुरको हेटौँडा उपमहानगरपालिका र थाहा नगरपालिकाले अन्तिम चारमा स्थान बनाएका छन्।
मानिखेलको भलिबल कोर्टमा घ्याङलेख गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाबीचको सेमिफाइनल प्रतिस्पर्धा हुनेछ। अर्को सेमिफाइनल खेल आयोजक महांकाल गाउँपालिका र थाहा नगरपालिकाबीच गोटीखेलको भलिबल कोर्टमा हुनेछ।
यसअघि बागमती गाउँपालिकालाई २५–२२, २९–२९ ले हराएर महाङ्कालले सेमिफाइनलमा स्थान बनाएको थियो। यस्तै क्वार्टरफाइनलमा थाहाले माडी नगरपालिकालाई २५–१७,२५–२१ ले पराजित गरेको हो।
त्यस्तै हेटौंडाले खाँडादेवी गाउँपालिकालाई २५–१२, २५–१६ ले निरास बनाएर अन्तिम चारमा स्थान बनाएको थियो भने अर्को क्वार्टरफाइनलमा घ्याङलेखले गाकर्णेश्वर नगरपालिकालाई २५–२३, २९–२७ ले हराएको थियो।
प्रतियोगिताको फाइनल खेल पनि मंगलबार नै हुनेछ।
प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले २ लाख तथा तेस्रो हुने टोलीलाई १ लाख रुपैयाँ प्रदान गरिने छ।
प्रधानमन्त्री पुष्पकमल दाहालका छोरा स्व. प्रकाश दाहाल र छोरी ज्ञानु दाहालको स्मृतिमा स्थापित प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा प्रतियोगिता सञ्चालन भइरहेको हो।
प्रतिक्रिया दिनुहोस्