images
images
  • आइसिसी विश्वकप क्रिकेट: बंगलादेशमाथि इंग्ल्यान्डको फराकिलो जित

    काठमाडौं- भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप २०२३ अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा इंग्ल्यान्डले बंगलादेशमाथि १ सय ३७ रनको फराकिलो जित निकालेको छ।

    धर्मशालामा टस जितेर बंगलादेशले पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको इंग्ल्यान्डले तीन सय ६४ रनको पहाड खडा गरेको थियो। इंग्ल्यान्डका लागि ओपनर डेबिड मालनको एक सय सात बलमा एक सय ४० रनको शतकीय पारी खेले। उनले पाँच छक्का र १६ चौका प्रहार गरे।

    यस्तै, जोय रुटले ८२ तथा जोनी बेयरस्टोले ५२ रनको योगदान दिए। मालन र बेयरस्टोले पहिलो विकेटका लागि एक सय १५ रनको साझेदारी बनाउँदै टस जितेर फिल्डिङ रोज्ने बंगलादेशको निर्णय गलत थियो भन्ने साबित गरिदिए।

    जितका लागि तीन सय ६५ रनको लक्ष्य पछ्याएको बंगलादेश सुरुदेखि नै लड्खडायो। ओपनर तान्जिद हसन एक रनमा आउट भए भने अर्का ओपनर लिट्टन दासले ७६ रनको इनिङ खेले पनि टिमलाई आवश्यक रन पुर्‍याउन सकेनन्।

    मुस्फिकर रहिमले ५१ र तोहिद हृदोयले ३९ रन बनाए। आजको जितपछि इंग्ल्यान्डले दुई खेलबाट दुई अंक जोडेको छ। उसले पहिलो खेलमा हार व्यहारेको थियो। पहिलो खेल जितेर दुई अंक हासिल गरेको बंगलादेशले भने जितको लय कायम राख्न सकेन।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images