
काठमाडौं- भारतमा जारी आइसिसी एकदिवसीय विश्वकप २०२३ मा न्युजिल्यान्डले दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेको छ । हैदरवादमा आज भएको आफ्नो दोस्रो खेलमा न्युजिल्यान्डले नेदरल्यान्ड्सविरुद्ध ९९ रनको जित निकाल्यो ।
तीन सय २३ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४६.३ ओभरमा दुई सय २३ रनमा अलआउट भएपछि न्युजिल्यान्डले लगातार दोस्रो जित निकालेको हो ।
टस जितेर नेदरल्यान्ड्सले पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको न्युजिल्यान्डले ५० ओभरमा सात विकेट गुमाएर तीन सय २२ रन बनाएको थियो । रनको पहाड खडा गर्ने क्रममा न्युजिल्यान्डका तीन खेलाडीले अर्धशतक बनाए ।
ओपनर विल योङ, रचित रवीन्द्र र टोम लाथमले अर्धशतक पूरा गरेका थिए । अर्का ओपनर डेभोन कनवेसँग योङले पहिलो विकेटका लागि ६७ रनको सोझेदारी गरेका थिए । कनवे ३२ रनमा आउट भए । योङले भान मेक्रेनको बलमा आउट हुनुअघि ८० बलमा सात चौका र दुई छक्काको मद्दतमा ७० रन बनाए ।
योङले दोस्रो विकेटका लागि रचित रवीन्द्रसँग ७७ रनको साझेदारी गरेका थिए । इङ्ल्यान्डविरुद्धको खेलमा शतक प्रहार गरेका रवीन्द्रले भान डेर मेर्वेको बलमा आउट हुनुअघि ५१ बलमा ५१ रन नै बनाए ।
नेदरल्यान्ड्सलाई अलआउट गर्ने क्रममा न्युजिल्यान्डका मिचेल स्यान्टनेरले पाँच विकेट लिए । यस्तै, म्याट हेर्नीले तीन र रचित रवीन्द्रले एक विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्