
इजरायल र प्यालेस्टाइनको सीमावर्ती सहर गाजामा शनिबार हमास समूहले गरेको हमलामा किबुजस्थित कृषि फार्ममा इन्टर्नमा रहेका १० नेपाली विद्यार्थीको निधन भएको छ ।
बिएस्सी एग्रिकल्चर अध्ययन गरेर ‘लन एन्ड अर्न’ कार्यक्रमअन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न एक महिनाअघि मात्रै इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयका ४९ मध्ये १० विद्यार्थीको ज्यान गएको हो । एक विद्यार्थी अझै बेपत्ता छन् ।
इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले आइतबार किबुज अलुमिम फार्ममा रहेका नेपाली विद्यार्थीको निधन भएको पुष्टि गरेकी छिन् ।
मृतकको शव स्वदेश लैजान तथा त्यहाँ रहेका नेपालीको उद्धारका लागि छलफल भइरहेको जानकारी दिइन् । इजरायलको राजधानी तेलअभिभबाट राजदूत रिजालले भनिन्, ‘१० नेपाली विद्यार्थीको दुःखद निधन भएको छ । उहाँहरूको शव स्वदेश लैजान र उद्धार गर्नुपर्ने नेपालीको उद्धारका लागि छलफल भइरहेको छ ।’
नेपाली राजदूतावासले परराष्ट्र मन्त्रालयलाई मृतक, घाइते र बेपत्ता भएका नेपालीको सूची पठाएको छ । परराष्ट्र मन्त्रालयले प्राप्त गरेको सूचीअनुसार कैलालीको घोडाघोडी नगरपालिका– ४ का नारायणप्रसाद न्यौपाने, बझाङको जयपृथ्वी नगरपालिका– ६ का गणेशकुमार नेपाली, कैलाली बौनियाँका आशिष चौधरी, दार्चुलाको लेकम गाउँपालिका– ५ का दीपेशराज विष्टको मृत्यु भएको छ ।
त्यस्तै, डोटीको तत्कालीन पचनली गाविस– ३ का राजन फुलारा, डोटीकै तत्कालीन लामिखाल गाविस– ८ का पदम थापा र सल्यानको शारदा नगरपालिका– ३ का प्रवेश भण्डारीको मृत्यु भएको छ । त्यस्तै, दार्चुलाको मालिकार्जुन नगरपालिका– ४ का लोकेन्द्रसिंह धामी, धनुषाको तत्कालीन सपही गाविस– ६ का आनन्द साह र सुनसरीको तत्कालीन मधुवन गाविस– १ का राजेशकुमार स्वर्णकारको मृत्यु भएको छ ।
परराष्ट्रले भने मृतकहरूको सूची सोमबार मात्रै सार्वजनिक गर्ने भएको छ ।
डोटीको शिखर नगरपालिका– ५ पचनालीका राजन फुलाराको नेपालमा आएर लोकसेवा लड्ने सपना इजरायलमै बिलाएको छ । सुदूरपश्चिम विश्वविद्यालयको बिएस्सी एजीका विद्यार्थीका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इन्टर्नसिपमा अध्ययन गर्न इजरायल पुगेका राजनले एक हप्ताअघि आफ्ना काका राजेन्द्र फुलारासँग भिडियोमा कुरा गर्दै आफू नेपाल आएर लोकसेवा आयोगको तयारी गर्ने योजना सुनाएका थिए । तर, इजरायलमा भएको हमलामा उनको ज्यान गएको छ ।
राजनसँगको कुराकानी सम्झँदै राजेन्द्रले भने, ‘यहाँ त केही सिक्ने हो अंकल, गर्ने त आफ्नै देशमा हो, नेपाल आएर लोकसेवाकै तयारी गर्छु ।’ जिल्ला अस्पताल डोटीमा कार्यरत काका राजेन्द्रसँग मोबाइलको क्यामेरा फर्काउँदै राजनले भनेका थिए, ‘ऊ त्यही हो अंकल गाजा, यहाँ जतिवेला पनि आक्रमण हुन सक्छ, हामीलाई हमला हुनेबित्तिकै बंकरमा बस्न पनि सिकाइएको छ ।’ छोरा गुमेको खबरले बुबा घनश्याम विक्षिप्त बनेर बेहोस अवस्थामा छन् । घनश्याम ऋण सापट गरेर छोरालाई उच्च शिक्षा पढाइरहेका थिए । -आजको नयाँ पत्रिकाबाट
प्रतिक्रिया दिनुहोस्