काठमाडौं- १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत एथलेटिक्सपछि भारोत्तोलनमा राष्ट्रिय कीर्तिमान बनेको छ ।
प्रतियोगिताको बिहीबार नेपालका भारोत्तोलन खेलाडी विशालसिंह विष्टले चियोसन स्पोर्टस् सेन्टर जिम्न्याजिममा पुरुष ९६ केजी तौल समूहमा राष्ट्रिय कीर्तिमान राखेका हुन्। उनले कुनै पनि नेपाली खेलाडीले समग्रमा पहिलोपटक तीन सय एक केजी वजन उठाएको अर्को दुर्लभ कीर्तिमानसमेत राखे।
समग्रमा विशालले आफ्नो तौल समूहमा चारवटा राष्ट्रिय कीर्तिमान काम गरेका छन्।
विशालले स्न्याचमा एक सय ३३ केजी, क्लिन एन्ड जर्कमा एक सय ६८ केजी र कुलमा तीन सय एक केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरे।
यसअघि स्न्याचमा एक सय २६ केजी, क्लिन एन्ड जर्कमा एक सय ६५ केजी र कुलमा दुई सय ९१ केजीको राष्ट्रिय कीर्तिमान विशालकै नाममा थियो। उनले उक्त कीर्तिमान केही साताअघि रियादमा भएको विश्व भारोत्तोलन च्याम्पियनसिपमा बनाएका थिए।
स्न्याचमा भने विशालले दोस्रो लिफ्टमा नै एक सय २७ केजी तौल उठाउँदै राष्ट्रिय कीर्तिमान स्थापित गरिसकेका थिए। पहिलो लिफ्टमा विशालले १२१ केजी तौल उचालेका थिए। नेपालबाट पाँच खेलाडी सहभागी भारोत्तोलनमा नेपालको अन्तिम दिन शनिबार सागर भण्डारीले खेल्नेछन्।


विश्व खबर 


















