बेइजिङ- चीनका रक्षामन्त्री जनरल ली साङ्फु दुई सातादेखि सार्वजनिक समारोहमा देखा नपरेपछि उनको अनुपस्थितिलाई लिएर विभिन्न अड्कलबाजी सुरु भएका छन् ।
गत जुलाईमा तत्कालीन चिनियाँ विदेशमन्त्री छिन काङ पनि यसैगरी करिब एक महिनाका लागि सार्वजनिक परिदृश्यबाट हराएका थिए।
पछि चीनले उनलाई पदमुक्त गर्दै पूर्व विदेशमन्त्री वाङ यीलाई निरन्तरता दिएको थियो । यही सेप्टेम्बर ७ र ८ मा भियतनामसँग हुने भनिएको रक्षा सहयोगसम्बन्धी वार्तालापमा स्वास्थ्य अवस्थाका कारण रक्षामन्त्री उपस्थित हुन नसक्ने भन्दै चीनले एकाएक रद्द गरेको रोयटर्सले जनाएको छ ।
भियतनाममा हुने भनिएको उक्त बैठक रद्द भएको विषयमा मागिएको प्रतिक्रियामा चीनको स्टेट काउन्सिल सूचना कार्यालयका साथै रक्षा र परराष्ट्र मन्त्रालय कसैले पनि तत्काल जवाफ नदिएको रोयटर्सले उल्लेख गरेकाे छ । केही दिनअघि मात्रै चिनियाँ सेनाको विशेष रकेट फोर्सका प्रमुख पदमुक्त गरिएको घटनाले पनि रक्षामन्त्री लीको अनुपस्थितिलाई रहस्यमय बनाइदिएको छ ।
चिनियाँ रक्षामन्त्रीको अनुपस्थितिलाई लिएर जापानका लागि अमेरिकी राजदूत राहम इम्यानुएलले सेप्टेम्बर ८ मा सामाजिक सञ्जाल एक्समा एउटा पोस्ट गरेपछि उनीप्रतिको चासो चुलिएको हो । राजदूत इम्यानुएलले राष्ट्रपति सीको क्याबिनेटको पंक्ति विश्वचर्चित जासुसी उपन्यासकार अगाथा क्रिस्टीको उपन्यास ‘एन्ड देन देयर वेयर नन’ कथानक जस्तै देखिन पुगेको टिप्पणी गर्दै ट्विट गरेका थिए ।
धेरैले राष्ट्रपति सी चिनफिङले रक्षामन्त्रीलाई बर्खास्त गरेको आशङ्का गरेका छन् ।


विश्व खबर 

















