काठमाडौं-काठमाडौं महानगर वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको बिहीबार बिहान ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको वडासचिव प्रकाश खड्काले बताए ।
रिजाल काठमाडौं कांग्रेस क्षेत्र नम्बर ७ क्षेत्रिय सभापति समेत हुन् । रिजाल गत स्थानीय तह निर्वाचनमा ४००५ मतका साथ अध्यक्षमा विजयी भएका थिए । उनले नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरलाई पराजित गरेका थिए ।
अध्यक्षमा निर्वाचित भएसँगै उनले फोहोर व्यवस्थापनको विषयमा दिएको एक अभिव्यक्ति निकै चर्चामा आएको थियो । फोहोर व्यवस्थापन लगायतका विषयमा कार्यपालिकाको पहिलो बैठकमा नै मेयर बालेन शाहसँग उनको चर्काचर्की पनि परेको थियो ।पछि मेयर शाह रिजाललाई भेट्न उनकै निवास पुगेका थिए ।
सामाजिक सञ्जालमा समेत निकै सक्रिय रिजालले जनप्रतिनिधिहरुको तलब सुविधा काटेर त्यो रकम विकासको काममा खर्च गर्न प्रस्ताव गरेका थिए ।
महानगरपालिकाले राष्ट्रिय सभागृहमा बिहान ११ बजे रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखिएको छ ।






















