images
images
  • सुदूरपश्चिममा मुख्यमन्त्री भट्टले विश्वासको मत लिने प्रक्रिया शुरु


    धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक शुरु भएको छ । बैठकमा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ उपनियम ४ अनुसार मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिन प्रस्ताव पेस गरेका छन् ।

    नेकपा एमालेको माधव नेपाल पक्षले विश्वासको मतको पक्षमा मत दिने निर्णय गरेको छ ।

    आजै बिहान बसेको एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले माओवादी केन्द्रबाट मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ । ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा एमाले र माओवादी केन्द्रको गठबन्धन सरकार छ । सबैभन्दा ठूलो दल एमालेसँग सभामुखसहित २५ सांसद छन् ।

    सुदूरपश्चिममा एमालेको नेपाल–खनाल समूह बलियो छ । नेपाल–खनाल समूहमा १५ सांसद छन् भने ओली समूहमा ९ सांसद मात्र देखिएका छन् । यस्तै माओवादी केन्द्रका १४ सांसद रहेकोमा अहिले १३ जना मात्रै छन् । माओवादी केन्द्रबाट विजयी अछामका झपडबहादुर बोहरा एमालेमा प्रवेश गरेपछि उनको सांसद पद गुमेको हो ।

    यस्तै प्रदेश सभामा कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ सांसद छन् । मुख्यमन्त्री भट्टलाई सरकार जोगाउन २७ सांसद आवश्यक पर्छ । माओवादी केन्द्रले आफ्ना पक्षमा २८ मत आउने दाबी गरेको छ । ‘एमालेको नेपाल–खनाल समूह सरकारमै भएकाले विश्वासको मत सजिलै प्राप्त गर्छौं,’ माओवादी केन्द्रका एक सांसदले भने, ‘एमालेका १५ सांसदले विश्वासको मत दिने अनुमान हामीले गरेका छौं ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images