काठमाडौ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई उच्च अदालत विराटनगरले व्यक्तिको जग्गामा जबर्जस्ती प्रवेश नगर्न र जग्गाधनीलाई धरपकड नगर्न आदेश दिएको छ।
उपमहानगरपालिकास्थित सर्दु जलाधार क्षेत्रको जग्गालाई लिएर उच्च अदालतले मेयर साम्पाङलाई सचेत गराएको हो ।
बिहीबार उच्च अदालतका न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले प्याराग्लाइडिङ व्यवसायी रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा प्रवेश नगर्न, उनीहरूमाथि धरपकड नगर्न आदेश दिएको छ।
सर्दु जलाधार क्षेत्रमा अनाधाकृित प्रवेश नगर्न र बृक्षा राेपण नगर्न अदालतले पहिले नै आदेश जारी गरेपनि मेयर साम्पाङ शनिवार सोही जग्गा अवलोकन गर्न पुगेको बेला अधिकारी दम्पती सँग विवाद भएको थियो ।
सोही विवादलाई लिएर मेयर साम्पाङले अधिकारीबिरूद्ध उजुरी दर्ता गरेका थिए ।
मेयर साम्पाङले आफूसँग दुर्व्यवहार भएको भन्दै प्रहरीलाई पक्राउ गरी कारबाहीकाे माग समेत गरेका थिए। मेयर साम्पाङले पक्राउ गर्न उजुरी दिएको सार्वजनिक भएपछि रोजिना अधिकारीले दिएको सम्भावित धरपकड, थुनामा राख्ने कारबाही विरुद्धको रिटमा उच्च अदालतका न्यायाधीश दिनेश प्रसाद यादवको इजलासले बिहीबार निषेधाज्ञा जारी गरेको हो।
निषेधाज्ञाको आदेशमा भनिएको छ ‘प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागे सम्मका लागि कानुन बमोजिम बाहेक निवेदकलाई थुनामा नराख्नु, धरपकड नगर्नु नगराउनु साथै सो जग्गामा प्रवेश नगर्नु नगराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम विपक्षीहरूका नाउँमा अन्तरिम आदेश जारी गरिएको छ ।’
अधिकारी दम्पतीले भाेगचलन गर्दै आएको धरान बाँझ गराको ९९ (ग) कित्ता नम्बर ४२१ र ३४५ को जग्गामा विवाद उत्पन्न भएको थियो ।






















