सुडान- पूर्वी अफ्रिकी देश सुडानमा अप्रिलदेखि सुरु भएको द्वन्द्वपछि भोकमरीका कारण झण्डै ५०० बालबालिकाको मृत्यु भएको छ । एक प्रमुख सहायता समूह ‘सेभ द चिल्ड्रेन’का अनुसार अहिले पनि कम्तिमा ३२ हजार बालबालिका कुपोषण र सम्बन्धित रोगहरूको उपचारमा पहुँचविहीन छन्।
खाद्यन्न अभावपछि परोपकारी संस्थाले सुडानमा आफ्ना ५७ पोषण केन्द्रहरू बन्द गर्न बाध्य भएका छन्। सेना र प्रतिद्वन्द्वी अर्धसैनिक बलबीच महिनौंदेखिको तनावपछि सुडानमा अराजकता फैलिएकाे छ। द्वन्द्वले खार्तुम र अन्य सहरी क्षेत्रलाई युद्धको मैदानमा परिणत गरेको छ। धेरै बासिन्दाहरू पानी र बिजुली बिना बाँच्न बाध्य छन्। अहिले देशको स्वास्थ्य सेवा प्रणाली लगभग ध्वस्त भएको छ।
सुडानमा सेभ द चिल्ड्रेनका निर्देशक आरिफ नूरले भने, “हामीले यति धेरै बालबालिका भोकले मरिरहेको भन्ने सोचेका थिएनौं तर अहिले सुडानमा यस्तै भइरहेको छ। हामीले बच्चाहरूलाई पूर्ण रूपमा रोक्न सकिने अवस्थामा पनि मरिरहेको देखिरहेका छौं।’
संयुक्त राष्ट्र मानव अधिकार कार्यालयका प्रवक्ता लिज थ्रोसेलका अनुसार सुडानमा भएको हिंसामा कम्तीमा ४ हजार मानिसको मृत्यु भएको अनुमान गरिएको छ । संयुक्त राष्ट्रसङ्घीय आप्रवासन एजेन्सीका अनुसार ४४ लाखभन्दा बढी मानिस आफ्नो घरबार छोडेर सुडानका सुरक्षित क्षेत्र वा छिमेकी मुलुकतर्फ भाग्न बाध्य भएका छन् ।
सेभ द चिल्ड्रेनले मे र जुलाईको बीचमा मात्रै दक्षिणी ह्वाइट नाइल प्रान्तमा कुपोषण वा सम्बन्धित रोगका कारण कम्तीमा ३१६ बालबालिकाको मृत्यु भएको जनाएको थियो। पहिलो छ हप्तामा खार्तुमको एउटा अनाथालयमा दुई दर्जन शिशुसहित कम्तीमा ५० बालबालिकाको भोक वा सम्बन्धित रोगका कारण मृत्यु भएको परोपकारी संस्थाले जनाएको छ।


विश्व खबर 

















