images
images
  • सिङ्गापुरमा बीस वर्षपछि किन दिइयो महिलालाई मृत्युदण्ड ?

    काठमाडौं- मृत्युदण्डलाई प्रभावकारी अपराध निरोधक दाबी गर्दै आएको सिङ्गापुरले लागुऔषध तस्करीमा दोषी ठहरिएका दुई जनालाई यसै साता मृत्युदण्ड दिने तयारी गरेको छ।

    सरिदेवी जामानी भनेर चिनिने ४५ वर्षीया महिला र ५६ वर्षीय पुरुषलाई फाँसी दिन लागिएको अधिकारवादी सङ्गठन ट्रान्सफर्मेटिभ जस्टिस कलेक्टिभ (टिजेसी)ले जनाएको छ।
    सिङ्गापुरले २० वर्षपछि पहिलोपटक महिलालाई झुन्ड्याएर मृत्युदण्ड दिन लागेको हो।

    टिजेसीका अनुसार पचास ग्राम हेरोइन तस्करी गरेको अभियोगमा दोषी ठहर भएका ती पुरुषलाई बुधबार चङ्गी जेलमा र ३० ग्राम हेरोइन तस्करी गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएकी जामानीलाई शुक्रबार फाँसी दिइनेछ।

    सन् २०१८ मा उनीहरूलाई मृत्युदण्डको सजाय सुनाइएको थियो। दण्ड पाउने दुवै सिङ्गापुरका नागरिक हुन्। उनीहरूका परिवारले उनीहरूको मृत्युदण्डको मिति निर्धारण गरिएको सूचना प्रदान गरिएको छ।

    मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले निर्धारित मृत्युदण्ड रोक्न आग्रह गरेको छ। टिजेसीले पनि मृत्युदण्ड रोक्न आग्रह गर्दै आएको छ। सिङ्गापुरले लागुऔषध नियन्त्रणको नाममा मृत्युदण्ड दिने क्रम जारी राख्नु अनुचित भएको टिप्पणी एम्नेस्टीले गरेको छ।

    विश्वका धेरै देशले मृत्युदण्डको सजाय परित्याग गर्दै लागू औषधसम्बन्धी मुद्दा सम्बोधनका निम्ति उदार नीति अङ्गीकार गरिरहेको परिप्रक्ष्यमा सिङ्गापुरले त्यसलाई मनन नगर्नु दुर्भाग्यपूर्ण भएको एम्नेस्टीले बताएको छ।

    कोभिड-१९ को महामारीमा दुई वर्षको अन्तरालपछि सरकारले फाँसीको सजाय पुनःकार्यान्वयन गरेपछि कम्तीमा १३ जनालाई फाँसी भइसकेको छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images