images
images
  • बंगलादेशमा बस दुर्घटना हुदा १७ यात्रुको मृत्यु, ३५ जना घाइते

    एजेन्सी- बंगलादेशमा भयानक दुर्घटना भएको खबर छ । बंगलादेशको झलकाठी सदर उपजिल्लाको छत्रकांडा क्षेत्रमा बस पोखरीमा खस्दा तीन बालबालिकासहित १७ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।

    चालकको लापरवाहीका कारण यो दुर्घटना भएको घाइतेहरुले आरोप लगाएका छन् । उनीहरुका अनुसार बसमा यात्रु खचाखच भएको पनि बताए । बंगलादेशी अखबार डेली स्टारका अनुसार ५२ जना क्षमताको बसमा ६० भन्दा बढी यात्रु सवार थिए। पिरोजपुरको भण्डारीयाबाट बिहान करिब ९ बजे छुटेको बस बरिशाल–खुल्ना राजमार्गको छत्रकाण्डामा बिहान १० बजेतिर सडक छेउको पोखरीमा खसेको थियो ।

    जुन यात्रामा रहेका एक घाइते एमडी मोमिनले भने, ‘म भण्डारियाबाट बसमा चढेँ । बस यात्रुले खचाखच भरिएको थियो । तिनीहरूमध्ये कोही कोरिडोरमा उभिरहेका थिए। मैले चालकलाई सुपरभाइजरसँग कुरा गरिरहेको देखेँ। अचानक बस सडकबाट चिप्लिएर दुर्घटनामा पर्न गयो ।’ मोमिनले अगाडी भने, ‘सबै यात्रु बसभित्र फसेका थिए । ओभरलोडका कारण बस तत्कालै डुबेको थियो । म कुनै तरिकाले बसबाट बाहिर निस्कन सफल भएँ।’

    बारिशालका डिभिजनल कमिश्नर एमडी शौकत अलीले सबै १७ जनाको घटनास्थलमै मृत्यु भएको र बाँकी घाइतेहरूलाई अस्पताल लगिएको पुष्टि गरेको डेली स्टारले जनाएको छ। मृत्यु हुनेमा अधिकांश पिरोजपुरको भण्डारीया उपजिल्ला र झलकाठीको राजापुर क्षेत्रका बासिन्दा रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images