काठमाडौं- एसीसी मेन्स इमर्जिङ एसिया कपमा नेपाली राष्ट्रिय क्रिकेट टिमले भारत ‘ए’ विरुद्ध १६८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
सोमबार श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादासा रंगशालामा टस जितेर ब्याटिङमा आएको नेपाली टिम भारतीय बलरसामु खुलेर खेल्न नसक्दा १६७ रनमै समेटिएको हो ।
खराब ब्याटिङले निरन्तरता पाउँदा नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले भने ६५ रनको कप्तानी इनिङ खेले । उनले ८५ बलमा सात चौका प्रहार गरे । ३७–५ को कठिन अवस्थामा रहँदा रोहितले छैटौँ विकेटका लागि सोमपाल कामीसँग ५३ रनको साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए । सोमपालले १४ रन बनाए ।
यस्तै, ९०–६ को अवस्थाबाट पनि रोहितले सातौँ विकेटका लागि गुल्सन झासँग ५४ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफलतर्फ अघि बढाएका थिए ।
गुल्सन झाले टिमको खातामा ३८ रन थपे । आसिफ शेखले १५ र सोमपाल कामीले १४ रन बनाए । यसबाहेक नेपाली टिमका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका कुशल भुर्तेल र कुशल मल्ल डक भएका थिए । देव खनालले सात, पवन सर्राफले ६, भीम सार्कीले चार र ललितनारायण राजवंशी तीन रनमा आउट भए । किशोर महतो दुई रनमा अविजित रहे ।
नेपाललाई सस्तैमा समेट्न निशान्त सिंन्दुले चार विकेट लिए । राजबर्धन हंगारगेकरले तीन विकेट लिँदा हर्षित रानाले दुई र मानव सुथारले एक विकेट लिए ।
सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न पनि नेपाली टिमलाई आज जित्नैपर्ने दबाब छ । समूह ‘बी’मा रहेको नेपाल यसअघि पहिलो खेलमा पाकिस्तानसँग चार विकेटले पराजित भएको थियो । पहिलो खेलमा पनि खराब ब्याटिङ गरेको नेपाल १७९ रनमै समेटिएको थियो ।
प्रतियोगितामा नेपालसहित एसियाका आठ टिम सहभागी छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’मा ओमान, अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । समूह ‘बी’मा नेपाल, भारत, पाकिस्तान र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् । समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्ने छन् । सेमिफाइनल खेलहरू साउन ५ र फाइनल साउन ७ गते हुने छन् ।


विश्व खबर 


















