images
images
  • नेपालले पाकिस्तानलाई दियो १८० रनको लक्ष्य

    काठमाडौं- श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा पाकिस्तान ए लाई नेपालले १ सय ८० रनको लक्ष्य दिएको छ ।

    कोलम्बो क्रिकेट क्लबको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ३७ ओभरमा अलआउट हुँदै १ सय ७९ रन मात्र बनायो ।

    नेपालका लागि सोमपाल कामीले १ सय १ बलमा ९ चौका र २ छक्काको सहयोगमा ७५ रनको अर्धशतकीय ईनिङ खेले । नवौं विकेटका लागि सोमपालले प्रतिश जि।सीसँग मिलेर ७० बलमा ५८ रन बनाए । यो साझेदारीले नेपाललाई लज्जास्पद योगफल बन्नबाट जोगाए ।

    प्रतिशले २४ बलमा १ चौका र २ छक्काको सहयोगमा २६ रन बनाए । १५ दशमलब ४ ओभरमा ७२ रनमा ८ विकेट गुमाएको नेपालका लागि सोमपाल र प्रतिशको साझेदारीबाट टोली लज्जास्पद सुम्मानजनक योगफलसम्म पुग्यो ।

    १० औं विकेटका लागि सोमपाल र ललितनारायण राजवंशीले ५८ बलमा ४९ रनको महत्वपुर्ण साझेदारी गरे । राजवंशी १ रनमा अविजित रहे ।

    अर्जुन साउद तथा कुशल मल्लले समान १७र१७ रन बनाए । गुलसन झाले १९ बलमा १ चौकाको सहयोगमा १३ रन बनाए । ओपनर आसिफ शेख १२ रन बनाए । अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    पाकिस्तान ए का लागि शाहनवाज दहानीले ५ तथा मोहम्मद वासिम जुनियरले ४ विकेट लिए । मुबासिर खानले १ विकेट लिए ।

    पाकिस्तान राष्ट्रिय टोलीबाट खेलिसकेका मोहम्मद हरिसको कप्तानीमा पाकिस्तान ए टोली रहेको छ । टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेका मोहम्मद वासिम जुनियर तथा शाहनवाज दाहानी समेत रहेका छन् । नेपाल भने साविक कप्तान रोहित पौडेलको कप्तानीमा मैदान उत्रदै छ ।

    गत मेमा नेपालमा भएको एसीसी प्रिमियर कपको विजेता बन्दै नेपाल इमर्जिङ कपका लागि छानिएको हो । टेस्ट राष्ट्र पाकिस्तान स्वतः छनोट भएको हो ।

    जितका साथ प्रतियोगिता सुरुआत गर्ने लक्ष्यमा रहेको नेपाल र पाकिस्तान ए रहेका छन् ।

    नेपालले दोस्रो खेलमा सोमबार भारत ए सँग खेल्नेछ । भारतसँगको खेल डे नाईट खेल हुनेछ । नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार युएई ए सँग खेल्नेछ ।

    यस प्रतियोगितामा ६ टोली सहभागीता रहेको छ । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शिर्ष दुई टोली सेमिफाइनलका लागि छानिने छन् । सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ ।

    सेमिफाइनलका दुई विजेता उपाधीका लागि भिड्ने छन् । फाइनल खेल २३ जुलाईमा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images