images
images
  • आईसीसी विश्वकप क्रिकेट खेल्ने टिमको टुंगो

    काठमाडौं- आगामी ५ अक्टोबरबाट शुरु हुने आईसीसी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा खेल्ने १० टिमको टुंगो लागिसकेको छ ।

    १९ नोभेम्बरसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा विश्वका सर्वोत्कृष्ट १० राष्ट्रका खेलाडीहरुले प्रतिस्पर्धा गर्दैछ । लिग चरणमा खेल राउण्ड रोविनको आधारमा हुनेछ ।

    विश्वकपको १३औं संस्करणमा आइसिसी सुपर लिगका शीर्ष आठ राष्ट्र तथा छनोट पार गरेका दुई गरी १० टोलीले उपाधिका लागि खेल्नेछन् ।

    आइसिसी सुपर लिगबाट आयोजक भारत, अस्ट्रेलिया, इङ्ल्यान्ड, पाकिस्तान, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, बंगलादेश र अफगानिस्तानले सिधै विश्वकपमा स्थान बनाएका थिए ।

    यसैगरी श्रीलंका र नेदरल्यान्ड्सले भने छनोट चरण पार गर्दै विश्वकपमा सहभागिता पक्का गरेका हुन् । शीर्ष १० भित्रको वेस्ट इन्डिजमात्र विश्वकपमा अनुपस्थित हुनेछ ।

    ग्लोबल क्वालिफायरमा असफल भएपछि आइसिसी वरीयताको शीर्ष १० मा रहे पनि दुई पटकको पूर्व विजेता वेस्ट इन्डिजले यसपटक विश्वकपमा खेल्ने छैन ।

    बिहीबार स्कटल्यान्डमाथि सनसनीपूर्ण जित हासिल गरेपछि १५औं वरीयताको नेदरल्यान्ड्सले विश्वकपमा उपस्थिति पक्का गरेको हो ।

    प्रतियोगिताको उद्घघाटन खेल अक्टोबर ५ मा इंग्ल्याण्ड र न्यूजील्याण्डबीच अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ । प्रतियोगिताको आयोजक भारतले भने आफ्नो पहिलो खेल अक्टोबर ८ मा अस्ट्रेलियाविरुद्ध चेन्नईमा खेल्नेछ ।

    भारतले अहिलेसम्म भएका विश्वकपका सबै संस्करणमा सहभागिता जनाएको छ । हाल आइसिसी एकदिवसीय वरीयताको तेस्रो स्थानमा रहेको भारत दुई पटकको च्याम्पियन हो । सन् १९८३ मा भारत पहिलो पटक एकदिवसीय विश्वकप च्याम्पियन बनेको थियो । त्यसको २८ वर्षपछि अर्थात २०११मा श्रीलंकालाई हराउँदै भारत दोस्रो पटक च्याम्पियन बनेको हो । भारतले गत संस्करणमा पनि सेमिफाइनसम्म यात्रा तय गरेको थियो ।

    त्यस्तै, प्रतियोगिताकै सर्वाधिक सफल टोली अस्ट्रेलियाले पनि अक्टोबर ८ मा आयोजक भारतविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । हाल एकदिवसीय वरीयताको शीर्षस्थानमा रहेको अस्ट्रेलिया पाँच पटक च्याम्पियन टोली छ । विश्वकपका सबै संस्करणमा सहभागिता जनाएको अस्ट्रेलिया सन् १९८७ मा इङ्ल्यान्डलाई हराउँदै पहिलो पटक च्याम्पियन बनेको थियो ।

    अस्ट्रेलियाले सन् १९९९, २००३ र २००७ मा लगातार तीन पटक च्याम्पियन बन्दै उपाधिमा ह्याट्रिक गरेको थियो । एकदिवसीय विश्वकपको उपाधिमा ह्याट्रिक गर्ने एकमात्र राष्ट्र अस्ट्रेलिया सन् २०१५ मा न्यूजिल्यान्डलाई पराजित गर्दै पाँचौं पटक च्याम्पियन बनेको थियो । अस्ट्रेलियाले गत संस्करण सेमिफाइनलसम्म यात्रा तय गरेको थियो ।

    त्यसैगरी क्रिकेटको जन्मदाता इङ्ल्यान्डले अक्टोबर ५ मा हुने उद्घघाटन खेलमा न्यूजील्याण्डविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ।यो खेल गत संस्करणको फाइनलको रिभ्यू सरह हुनेछ । सन् २०१९ मा भएको अघिल्लो संस्करणमा न्युजिल्यान्डलाई पराजित गर्दै इंग्ल्याण्ड पहिलो पटक एकदिवसीय विश्वकपको च्याम्पियन बनेको थियो ।

    विश्वकपका सबै संस्करणमा सहभागिता जनाए पनि आफ्नै भूमिबाट एकदिवसीय विश्वकप सुरु भएको इङ्ल्यान्डले च्याम्पियन बन्न ४४ वर्ष कुर्नुपरेको थियो । इङ्ल्यान्ड हाल एकदिवसीय वरीयताको पाँचौं स्थानमा रहेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images